नेपालमा शहरी खानेपानी तथा उर्जा सेवाको प्रविधिमार्फत स्तरोन्नती गर्नका लागि कार्यशाला गोष्ठि हुँदै

डिसी नेपाल
१३ माघ २०७९ १०:०७
16
Shares

काठमाडौँ। विश्वमा हरक्षण प्रविधिले फड्को मारिरहेका बेला नेपालमा पनि उर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाईज गर्दै प्रविधि मार्फत थप परिस्कृत गर्नका लागि एक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ।

शहरी सेवा प्रबन्धका चुनौतिहरूलाई ध्यानमा राख्दै, जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा “नेपालमा शहरी खानेपानी तथा उर्जा सेवा स्तरीकरण” विषयक कार्याक्रम आगामी माघ २४ गते हुन लागेको हो।

विगत केही दशकहरूमा नेपालमा पनि तीब्र सहरीकरणको अनुभव गरिरहका बेला यसका नकारात्मक प्रभावका रुपमा खानेपानी र उर्जा जस्ता अत्यावश्यक सेवाप्रवाहमा विभिन्न खालका अवरोध सिर्जना भएका छन्। फलस्वरुप, शहरी योजना र सेवा विस्तारका लागि चुनौतीहरू थपिएका छन्।

युनिसेफ तथा डब्लुएचओका अनुसार नेपालको शहरी जनसंख्याको २५ प्रतिशतमा मात्र सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवामा पहुँच पुगेको छ। नेपालको ९४ प्रतिशत शहरी जनसंख्याको बिजुलीमा पहुँच छ भने ७२ प्रतिशत जनसंख्यामा मात्र भरपर्दो, किफायती र निर्बाध बिजुलीको पहुँचमा रहेको तथ्यांक छ।

विश्व बैंकको उद्यम सर्वेक्षण अनुसार नेपालका दुई तिहाइ व्यवसायिक संस्थाहरूले विद्युतको अव्यवस्थालाई व्यवसाय विस्तारमा मुख्य बाधाको रूपमा पहिचान गरेका छन्। देशको ऊर्जा क्षेत्र पनि सहरी क्षेत्रमा बढ्दो मागलाई समायोजन गरी दिगो, भरपर्दो र किफायती सेवाप्रवाहका लागि संघर्ष गरिरहेको अवस्था छ।

जिएसएमए डिजिटल उपयोगिता कार्यक्रमको उद्देश्य आधुनिक प्रविधि र नवीन साझेदारीमार्फत किफायती, भरपर्दो, सुरक्षित र दिगो रुपमा उर्जा, खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन र यातायातजस्ता शहरी उपयोगिता सेवाहरू जनताको पहुँचमा पुर्याउनु हो। यसले न्यून र मध्यम आय भएका देशमा शहरहरूलाई जनसंख्या वृद्धि, जलवायु परिवर्तन र असमानता सम्बन्धी चुनौतीहरूको सामना गर्न सहयोग गर्दछ।

कार्यक्रममा सार्वजनिक र निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूका साथै लगानीकर्ताहरू र संस्थाहरूलाई आधुनिक प्रविधि र नवीन साझेदारीहरूमार्फत सहरी सेवा प्रवाहमा स्तरिकरण गर्न सक्षम बनाउनेछ।

यसअघि लागोस, किगाली र इस्लामाबादमा सम्पन्न यस्तै प्रकारका कार्यक्रमहरु फलदायी भएको महसुस गरिएको आयोजकको भनाई छ। यसले निजी क्षेत्र र सार्वजनिक क्षेत्रहरूबीच दिगो साझेदारीको लागि मार्गहरू प्रदान गरेको छ। यस कार्यशाला शहरी ऊर्जा र खानेपानी सेवामा सर्वसाधारणको पहुँचलाई किफायती, भरपर्दो, सुरक्षित र दिगो बनाउने चुनौतिहरूमा केन्द्रित रहनेछ।

कार्यशालामा नेपालमा शहरी ऊर्जा र खानेपानकिो सेवाप्रवाहमा वर्तमान चुनौतीहरू बुझ्न, सस्तो र पहुँचयोग्य ऊर्जा तथा सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालाहरूसँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्रहरू पहिचान गर्न, पहुँचयोग्य र किफायती ऊर्जा र सुरक्षित खानेपानीका लागि यस क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरूको विचार र दृष्टिकोण साझा गर्न तथा कम र मध्यम आय भएका देशहरूमा उत्कृष्ट अभ्यासहरू र अनुभवबाट खानेपानी र ऊर्जामा सार्वजनिक तथा निजी साझेदारीलाई स्पष्ट बनाउने विषयमा केन्द्रित हुनेछ।

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका बीस भन्दा बढि बरिष्ठ सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्थाहरू र जिएसएमएले सहयोग गरेका संस्थाहरु सहभागी हुनेछन्। यसमा दियालो टेक्नोलोजिज, घामपावर तथा इसेवा, जियोकृषि, र प्राक्टिकल एक्सन आदि संस्थाहरुको सहभागिता रहनेछ। कार्यक्रम बन्दशत्र प्रकृतिको रहनेछ र यसमा शहरी परिवेशमा खानेपानीको र ऊर्जा सेवाका लागि नविन प्रविधिको प्रयोग तथा साझेदारीको भूमिकामा छलफल गर्न प्रमुख सरोकारवालाहरूसँग गोलमेच सभा तथा प्यानल छलफल हुनेछ।

यस कार्यशाला मार्फत जिएसएमए डजिटल उपयोगिता टोली र यसका साझेदारहरू, दियालो टेक्नोलोजिज र घाम पावर मार्फत शहरी क्षेत्रमा ऊर्जा र खानेपानी सेवाहरू स्तरीकरण गर्न डिजिटल समाधान र साझेदारीको सम्भावनाको बारेमा चेतना जगाउने आशा राखिएको छ।

साथै, यस कार्यक्रमले नेपाल र बृहत्तर क्षेत्रमा नवीन प्रयोगहरू तथा सेवा वितरणका मोडेलहरू चलाउन सक्ने संस्थाहरू, सरकार, निजी क्षेत्र र सम्बन्धित संस्थाहरूबीच सान्दर्भिक साझेदारीको लागि साझा मञ्च सिर्जना गर्ने आशा पनि गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *