बाग्लुङको कुँडुले मौरीका लागि उपयुक्त चरन क्षेत्र, एक हप्तामा तीन सय केजी मह उत्पादन

डिसी नेपाल
१७ माघ २०७९ १४:३८
80
Shares

बागलुङ । मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गरे । एक सय मौरीका घारसहित चरनका लागि आएका उनले तीन सय केजी मह उत्पादन गरेको बताए । “मह प्रतिकेजी रू एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता मह काढ्छु”, उनले भने ।

मौरी चरनका लागि उपयुक्त कुडुँले फाँटमा यतिबेला तोरी फुलेको छ । तोरी फुल्ने मौसमका साथै मौरीका लागि उपयुक्त हावापनी भएकाले यहाँ महको उत्पादन दोब्बरले बढेको श्रेष्ठको भनाइ छ ।

“महको व्यावसायिक घार र प्रविधिको प्रयोगले मह काढिन्छ, उपयुक्त हावापानी र राम्रो चरन क्षेत्रका कारण मह उत्पादनमा राम्रो हुन्छ”, उनले भने, “अहिले कुडुँले फाँटमा एक सय घार मौरी चराउनका लागि एक हप्ताअघि ल्याएको थिए, एक हप्तामा तीन सय केजी मह उत्पादन भयो ।”

उनका अनुसार तीन सय केजीको बजार मूल्य रू तीन लाख ६० हजार पर्दछ । मौरीको ढुवानी र आउन जान खर्च भए पनि चरन क्षेत्र राम्रो हुँदा निकै फाइदा भएको उनको भनाइ छ । “अझै दुई पटक मह काढ्न सकिन्छ, त्यसपछि यहाँका घार पुनः अर्को स्थानमा पु¥याउने हो, यही तोरी फुलेको सिजनमा एक सय घार मौरीबाट १० लाख कमाउन सकिन्छ” उनले भने । चरन क्षेत्र राम्रो भएकाले एक महिनामा तीन पटक मह उत्पादन गर्न सकिन्छ ।”

महको चाकालाई असर नपर्ने गरी मह निकाल्दा माहुरीले छिटो मह उत्पादन गर्ने मह किसानको अनुभव छ । राम्रोसँग फस्टाएको घारमा एकै पटकमा १० केजीसम्म मह उत्पादन भएको श्रेष्ठको अनुभव छ ।

श्रेष्ठले स्थानीयलाई समेत मौरीको व्यावसायिक उत्पादनका लागि प्रेरणा दिएका छन् । कुडुँले फाँट र म्याग्दीको रत्नेचौर फाँट अहिले तोरीका कारण प्रख्यात बनेपछि तोरीको बहुउपयोगिताका लागि मौरी चरन क्षेत्रका रुपमा लिइएको म्याग्दी चिम खोला घर भई हालै मात्र मौरीपालन व्यवसायमा लागेर मह उत्पादन कार्य अवलोकन गर्न बागलुङको कुडुँले फाँटमा आउनुभएको डविन पुनले बताए ।

पुनले हालैबाट ३१ वटा मौरीका घार म्याग्दी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा चराउनका लागि राखेका छन् । “म नयाँ किसान हुँ । कुडुँले फाँटमा अहिले ललितपुरबाट मौरी चराउन ल्याइएको थाहा पाए पनि सिक्नका लागि यहाँ आएको छु, मैले ३१ घार मौरी अहिले रत्नेचौर तोरी बारीमा राखेको छु ।” पुनले भने। विसं २०५१ सालदेखि मौरीपालन गर्दै आउनुभएका ललितपुरका धर्मराज श्रेष्ठले कुडुँलेमै मौरीपालनका धेरै कुरा सिकाउनुभएको र उपयुक्त हावापानी र चरन क्षेत्र राम्रो भएमा मह उत्पादनबाट मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने आफूले बुझेको बताए ।

ललितपुरका श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घारहरुसमेत बिक्री गर्दै आउनुभएको छ । उहाँले प्रतिघार १२ हजारमा बिक्री गर्दै आउनुभएको छ । माउन्टेन मौरी कन्सर्नले मौरीसहितका घारहरु बिक्रीबाट मह बिक्रीको तुलनामा बढी फाइदा गर्दै आएको छ ।

“पहाडी क्षेत्रमा चरेका मौरीको मह आर्गानिक र स्वस्थकर मानिन्छ”, उहाँले भन्नुभयो, “मैले उत्पादन गरेको मह जापान निर्यात हुन्छ । बागलुङमा मौरीपालनको व्यवसाय फष्ठाउने संभावना रहेछ, आगमी वर्ष समेत मौरी चराउन यही ल्याउने योजना बनाएको छु ।”

उहाँले बागलुङ जिल्लामा पहिलोपटक मौरी लिएर आएको भएपनि अहिले हाम्रो मौरीका घार सिन्दुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काठमाडौको विभिन्न स्थानमा पु¥याएको जानकारी दिनुभयो । मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा समझदारी गरिने श्रेष्ठको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.