बदलिँदो लुम्बिनी

कपिल लोहनी
२१ माघ २०७९ ८:३०

गत नोभेम्बर २०२२ मा भैरहवा जाने क्रममा लुम्बिनीको पनि भ्रमण गर्ने मौका मिल्यो। दिउँसो केही काम नभएकोले होटेलमा नास्ता गरेर हामी लुम्बिनीतिर लाग्यौं। भैरहवाको बुद्धचोकबाट लुम्बिनीको मुख्य द्वारसम्म पुग्न २४ किलोमिटरको मोटरयात्रा गर्नुपर्ने हुन्छ भने भारतसँगको बेलहिया सीमाबाट २६ किलोमिटर।

काठमाडौँबाट भने लुम्बिनी ३२६ किलोमिटर दक्षिण-पश्चिममा पर्छ। हाल यो बाटो ४ लेनको पक्की बनिसकेकोले करिव ३० मिनेटको आरामदायी यात्रामा नै हामी लुम्बिनी पुग्न सक्दा रहेछौं।

तर केही वर्ष अघिसम्म पनि साँघुरो र ठाउँ ठाउँका बाटो बिग्रेर ठूला ठूला खाल्डा बनेको कच्ची बाटोमा परिणत भएको भिडभाडयुक्त बाटोमा यात्रा गर्दा हामी निक्कै सकसका साथ करिव डेढ घण्टामा एक तर्फी यात्रा तय गर्दथ्यौं।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छेवैछेउ पश्चिमतिर हुँदै हाम्रो मोटरगाडी अघि बढ्दै गयो। बुद्धचोकदेखि विमानस्थलसम्म बाटो छ लेनको नै रहेछ र त्यहाँबाट लुम्बिनीसम्म ४ लेनको। पुरै बाटोको बीचमा बगैँचा भएको डिभाइडर र बेलहिया-बुटवल मार्गमा जस्तै डिभाइडरमा बुद्धका मुर्तिहरू राखिएका। निक्कै मनमोहक र सुन्दर।

बाटोको राम्रो विकास हुने वित्तिकै दुवैतिर नयाँ बस्तीहरू बस्न शुरु भइहाल्ने। हराभरा उर्वर खेतबारीहरू पनि प्रसस्त देखिने। यो क्षेत्रमा एक प्रकारको कालो चामलको खेती निक्कै गरिँदो रहेछ। धान काट्ने बेला भएकोले ठूला ठूला हार्वेस्टरहरूको प्रयोग भइरहेको।

विशाल तिनाव नदी बुटवलतिरबाट बगेर यही विमानस्थलको पश्चिमी भागबाट दक्षिणमा जाने भएकोले पानीको दुख छैन खेतीपातीको लागि। भैरहवाबाट यात्रा शुरु गर्ने बित्तिकै नै सडकको दायाँ-बायाँ विभिन्न खाद्यान्नका मिलहरू र बायाँपट्टि सिमेन्टका विशाल कारखाना पनि देखिन थाले।

लुम्बिनी पुग्नु भन्दा केही किलोमिटर अगाडिदेखि नै केही वर्ष अघिदेखि बन्न शुरु भएका ठूला होटेल र रिसोर्टहरू देखिन शुरु हुँदा रहेछन्। होटल पवन प्यालेस र बुद्धमाया गार्डेनका विशाल भवनहरू बाटोमा देखिए। त्यस्तै अन्य ठूलासाना होटल, लज तथा गेस्ट हाउसहरू र रेष्टुरेन्टहरू पनि।

लुम्बिनीको मुख्य द्वारमा पुग्दा त त्यो भेगमा हाल धेरै होटल, गेस्ट हाउसहरू खुल्नुका साथै खानपानको पनि राम्रो बन्दोवस्तीसहितका रेष्टुरेन्टहरू र सोभेनियर पसलहरूसमेत खुलिसकेका रहेछन्। कता कता ठमेलको कुनै गल्लीमा पसेजस्तो। केही वर्ष अघिसम्म यो क्षेत्र ज्यादै सुनसान देखिन्थ्यो।

यहाँबाट दक्षिणपट्टि भारतको सिमाना (काक्राहवा)सम्म एउटा पक्की सडक बनेको रहेछ। त्यही सडक भएर भारतबाट बुद्ध धर्मावलम्वी तथा पर्यटकहरू ठूला ठूला पर्यटक बसमा चढेर लुम्बिनी आउँदा रहेछन्।

सम्राट अशोककी छोरी चारुमती काठमाडौँ आएर यहाँ ४ वटा बौद्ध स्तुपाहरूको निर्माण गर्नुका साथै यहीँका एक युवासँग विवाह गरेर हालको महाबौद्धतिर घरजम गरेर बसेको कुरा पनि पुरानो इतिहासमा पढ्न पाइन्छ। उनले तिव्वतसम्म पनि बौद्धधर्म फैलाउने काम गरेकी थिइन्।

भारतीय पर्यटन व्यवसायीहरूले भारतमा नै होटेल र नास्ताको प्रवन्ध मिलाएर पानी समेत उतैबाट ल्याउने भएकाले यी पर्यटकहरूले आएर केही समय लुम्बिनी परिसरमा घुम्दा भित्र पस्ने र सेवा शुल्क बाहेक नेपाललाई अरु केही फाइदा हुँदैन रहेछ।

बुद्धिष्ट सर्किट घुमाउने क्रममा बुद्ध जन्मेको ठाउँ भनेर लुम्बिनीमा केही घण्टा घुमाएर उनिहरूलाई पुनः सोही बाटोबाट भारत लगिँदो रहेछ। सुन्नमा आए अनुसार अध्यागमन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा ती पर्यटकलाई नेपाली सीमा वारपार गर्दा कुनै औपचारिकता पनि पु¥याइँदैन र तीनको आगमनको रेकर्ड पनि राखिँदैन अरे।

हवाई मार्गबाट नेपाल पसेर लुम्बिनी भ्रमणमा जाने विदेशी पर्यटक तथा तीर्थयात्री र भारतबाट आउने पर्यटक तथा भारतीय तिर्थयात्रीको पनि ठूलै भिड देख्नमा आयो। कोभिडको कारण ज्यादै नै सुस्ताएको लुम्बिनीको पर्यटनले राम्रैसँग फस्टाउन लागेको लक्षण त्यहाँ देख्न पाइयो।

यो भन्दा अघिको भ्रमणमा मुख्य द्वारबाट लुम्बिनी परिसरमा जाँदा धुले बाटोबाट रिक्सा, ट्याम्पो र साइकलको भिडको साथमा भित्र पस्नु पर्दथ्यो। तर हाल त्यहाँ टायल छापेको सफा बाटो हुँदै शान्त वातावरणमा हिँड्दै भित्र पस्ने वन्दोवस्ती मिलाइएको रहेछ।

रातिको समयका लागि सडक बत्ति पनि जडान गरिएका। ठाउँ ठाउँमा पानी जमाएर कृतिम पोखरी तथा नहर जस्तो बनाइएको र सोमा डुङ्गा चलाएर भक्तजनहरूलाई घुमाएको दृश्यले मन निक्कै आनन्दित बनाउँदो रहेछ।

मायादेवीको मन्दिर बाहिर जुत्ता फुकालेर निशुल्क सुरक्षित राखिदिने ठाउँको राम्रो व्यवस्था र हात–मुख धुन र पानी पिउन धाराको पनि वन्दोवस्त गरिएको। अलिक टाढा शौचालयको राम्रो प्रवन्ध। मायादेवीको मन्दिरको मुख्य द्वारमा टिकट देखाएर सुरक्षा जाँच पश्चात भित्र पस्ने व्यवस्था।

विदेशीको निम्ति केही महँगो टिकट र नेपाली तथा विद्यार्थीका लागि सस्तो टिकट अनि लुम्बिनी प्रदेशका बासिन्दालाई आफ्नो परिचय पत्र देखाएर निशुल्क पस्न पाइने व्यवस्था।

खानेकुरा बोकेर र जुत्ता लगाएर त्यो परिसरमा जान निशेधित भएकोले भित्रको पैदल बाटो र हरिया चौरहरू पनि ज्यादै सफा। आखिर गरे के पो नहुने रहेछ र। मायादेवीको मन्दिरभित्र जान र दर्शन गर्न लामवद्ध भएर चुपचाप हिँड्नु पर्ने व्यवस्था।

यो मन्दिरको जिर्णोद्धार करिव २ दशक अघि जापान सरकारले गरिदिएको हो। भगवान बुद्ध जन्मिएको स्थल र सोको वरिपरिका भग्नावशेषलाई बीचमा पारेर छतले ढाकिएको र छेउ छेउबाट काठे पुलमा हिँडेर जन्मस्थलसम्म जाने तथा अवलोकन गर्ने व्यवस्थित वन्दोवस्ती।

दानपात्रमा विभिन्न मुलुकका मुद्राहरू चढाइएको पनि देख्न सकिने। लामवद्ध मानिसहरू केही नबोली शान्त तवरले हिँड्दा र भित्रका विभिन्न ठाउँको अवलोकन गर्दा त्यो पुरै क्षेत्रको पवित्रतामा अझ बढी भव्यता दर्सिँदो रहेछ। भगवान बुद्धको जन्म यही स्थलमा ६२३ बी.सी.मा भएको थियो।

मायादेवीको मन्दिरबाट दक्षिणपट्टि बाहिर निस्केपछि विशाल कुण्डको नजिकमा हामी पुग्यौं। यही कुण्डमा स्नान र जलसेवनपश्चात राजा सुद्धोधनकी रानी मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन्। भगवान बुद्धले पनि सबैभन्दा पहिले यही पुष्करीणी कुण्डमा स्नान गरेकी थिए।

उनले जन्मने वित्तिकै सात पाइला हिँडेको कुरा पनि बौद्ध धर्मग्रन्थहरूमा उल्लेखित छ। उनको जन्म, उनी हिँडेको र पिपलको छहारीमा बसेको मूर्ति तथा चित्र अझै पनि त्यहाँ सुरक्षित छन्। हाल सो कुण्डको राम्ररी सम्वद्र्धन गरेर यसमा माछा तथा कछुवाहरू पनि छोडिएको छ।

यो कुण्डको चारैतिर बसेर ध्यानमग्न हुँदा शरीरमा निक्कै धेरै उर्जा पैदा भएको महसुस हुँदो रहेछ। कुण्डको नजिकको ज्यादै पुरानो बोधी वृक्षलाई पनि अति पवित्र मानिन्छ र त्यहाँ पूजा गर्ने प्रचलन पनि छ।

पिपलको बोटमा बाँधिएका रङ्गीविरङ्गी बौद्ध ध्वजापताकाले पुरै क्षेत्रको शोभा र सौन्दर्यमा ठूलो अभिवृद्धि गरेको छ । कुण्डको वरीपरि शाक्यमुनीको समयका ईँट्टाले बनेका ध्यान गर्ने स्थलहरू रहेका छन् भने उनको विशाल मूर्ति र उनले शिष्यहरूलाई शिक्षा दिइरहेको मुर्ति पनि त्यहाँ छ।

चारैतिर हरिया चौर र घुम्न गएका भक्तजन तथा पर्यटकहरू सुस्ताएर बसिरहेका। प्रत्येक वर्ष बुद्ध पूर्णिमाको दिन मायादेवीको मन्दिर परिसरमा बुद्ध जयन्ती निक्कै हर्षोल्लासका साथ मनाइन्छ।

मायादेवीको मन्दिरकै पश्चिमपट्टि भारतवर्षका महान् सम्राट अशोकले २४९ बी.सी. तिर यहाँको भ्रमण गर्दा एक स्तम्भ खडा गर्न लगाएका थिए। सो स्तम्भमा उनले आफ्नो शासनको २५औँ वर्षमा लुम्बिनीको भ्रमण गरेको कुरा उल्लेखित छ।

बुद्धका अनुयायी भएपछि उनले हत्या-हिंसा त्यागेर शान्तिप्रिय पथमा हिँड्न शुरु गरेका थिए भने उनका साथै उनका छोरा र छोरीले भारतभर र आजको श्रीलङ्कासम्म पनि बुद्धधर्म फैलाउने काम गरेका थिए।

सम्राट अशोककी छोरी चारुमती काठमाडौँ आएर यहाँ ४ वटा बौद्ध स्तुपाहरूको निर्माण गर्नुका साथै यहीँका एक युवासँग विवाह गरेर हालको महाबौद्धतिर घरजम गरेर बसेको कुरा पनि पुरानो इतिहासमा पढ्न पाइन्छ। उनले तिव्वतसम्म पनि बौद्धधर्म फैलाउने काम गरेकी थिइन्।

लुम्बिनी सभ्यताको पहिलो खोजकर्तामा खड्गशमशेरको नाम आउने गर्दछ। उनलाई दाजु वीरशमशेरले राजधानीबाट निकाला गरेर पाल्पा गौँडाको हाकिम बनाएर राखेको बेला लुम्बिनी क्षेत्रमा जाँदा उनले त्यहाँ शाक्य राजवंशको पालाका भग्नावशेष फेला पारेका थिए र केही ठाउँमा उत्खनन् पनि गराएका थिए। पछि एकजना जर्मन अन्वेशक फ्युररले सन् १८९५ मा पश्चिम चुरे श्रृंखलातिर घुम्दा अशोक स्तम्भ पत्ता लगाएका थिए।

गौतम बुद्धको जन्मस्थल भनेर चिनिने लुम्बिनीको उचित विकास गर्न लुम्बिनी विकास कोषको स्थापना सन् १९८५ मा भएको थियो। संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उ थान्टले सन् १९६७ मा नेपाल भ्रमण गर्दा आफु वर्माका बोद्धमार्गी नागरिक समेत भएको हैसियतले लुम्बिनीको भ्रमण गरेका थिए।

हात्तीमा हालको लुम्बिनी भएको ठाउँमा घुम्दा ठूला ठूला झाडीले ढाकिएका भग्नावशेष मात्र भएको लुम्बिनीको विभत्स अवस्था देखेर उनी रोएका थिए रे।

त्यसपछि न्यू योर्क फर्कने वित्तिकै उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रूपमा विकास गर्न संयुक्त राष्ट्र संघको एक विशेष समिति नै बनाए। यसै समिति अन्तर्गत लुम्बिनी विकासको लागि एक गुरु योजना समेत तयार भयो भने लुम्बिनीलाई विश्व सम्पदा सूचिमा पनि राखियो।

मायादेवीको मन्दिरबाट बाहिर निस्केर आआफ्ना जुत्ता लगाएपछि धारामा हातमुख धोएर केही बेरको आराम पश्चात हामी त्यहीँ छेउको एक बौद्ध मन्दिरमा गयौँ। बडेमानको हलभित्र प्रार्थना गर्ने ठाउँका साथै बुद्ध तथा अन्य बौद्ध गुरुको विशाल मुर्तिमा दर्शन गर्‍यौं।

त्यहाँ बौद्ध भिक्षुहरू लामवद्ध भएर बसेर बौद्ध श्लोकहरू पढ्दा र बेला बेलामा बाजागाजासहित प्रार्थना गर्दा त्यहाँको वातावरणमा कस्तो भव्यता छाउला, कल्पना गर्न सकिन्थ्यो, किनकी काठमाडौँका यस्तै बौद्ध चैत्यहरूमा त्यसरी पुजाआजा गरेका दृश्यहरू हामीले धेरै पटक देखेका छौं। सो मन्दिरको बाहिरपट्टि मनमोहक बगैंचा थियो।

मायादेवीको मन्दिरबाट उत्तरतर्फत चिनीया ईँट्टा र टायल छापेको हिँड्ने चौडा बाटो निक्कै टाढासम्म जाँदो रहेछ। यो बाटो बुद्धको सम्झनामा बालिने गरेको अखण्ड दिप भएको ठाउँसम्म पुग्दछ। त्यहाँ पुग्ने बेलामा आरा मगर्न र फोटो खिच्नको लागि एक विशाल चोक बनाइएको रहेछ।

बाटोको दुवैतिर पोखरी जमाइएको तथा सेता ठूला अक्षरले अङ्ग्रेजीमा लुम्बिनी लेखिएको। त्यहाँ पुग्ने जो कोहीले पनि यो ठाउँमा अवश्य फोटो खिच्छन् होला। हामीले पनि खिच्यौं। अखण्ड दिप बलेको ठाउँमा पनि भव्य बगैंचा बनाइएको। बगैंचाको उत्तरमा विशाल नहर र सो नहरमा मोटरबोटको आनन्द लिइरहेका पर्यटकहरू। यो रमणीयता यहाँ पहिले थिएन।

सोही नहरको बायाँपट्टि निजी विद्युतीय ट्याम्पुहरू ग्राहकलाई विभिन्न मुलुकहरूले निर्माण गरेका गुम्बा तथा ध्यान केन्द्रहरूको अवलोकन गराउन बसेका। हामीले पनि ६०० रुपैयाँमा एउटा ट्याम्पु भाँडामा लिएर अघि बढ्यौं।

दुवैतिर रुख विरुवा प्रचुर मात्रामा रोपिएका कच्ची मोटर बाटा हुँदै हामीले धेरै मुलुकका गुम्बाहरू बाहिरबाट अवलोकन ग¥यौं भने केहीको भित्र पनि पस्यौं। गुम्बाहरू भएका स्थलमा पनि भव्य पोखरीसहितको पार्कको निर्माण हुँदै रहेछ।

वर्मा, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, कोरिया, श्रीलङ्का, चीन, जापान लगायत जर्मनी र अन्य युरोपेली मुलुकहरूले निर्माण गराएका भव्य गुम्बा तथा ध्यान केन्द्र र संग्रहालयहरू समेत रहेछन् यो परिसर भित्र। पुराना मध्येको मनाङ समाज स्तुप पनि हेर्न लायकको।

एउटा स्वयम्भूको आकारको विशाल गुम्बाभित्र पनि गयौं हामी। भित्र ठूलो गुम्बज बीच आफ्नो आवाज समेत एकदम मज्जाले गुन्जने रहेछ। गुम्बजको बीच भागमा बुद्धको विशाल स्वर्ण मूर्ति। गुम्बाको पुरै भागमा सिंहमरमर छापिएकोले भव्य।

झट्ट हेर्दा भारतको नयाँ दिल्लीस्थित लोटस टेम्पलको भित्री हल जस्तो। तर अवलोकन गर्न जाने मानिसहरूको निक्कै कमी। यही गुम्बाभित्र एक कुनामा भगवान बुद्धको जीवनका विभिन्न पाटा बारेका चित्र तथा मुर्तिहरू सहितको निक्कै रोचक संग्रहालय।

राम्ररी हेर्न र पढ्न नै नपाउँदै टाढाबाट ट्याम्पुको चालकले अबेला भएको संकेत दिए पछि हामी अन्य गुम्बाहरूको अवलोकनमा हिँड्यौं। परिसरको अन्तमा सेतो विशाल शान्ति स्तुपको बाहिर पुग्यौं हामी।

झट्ट हेर्दा पोखराको डाँडामा अवस्थित स्तुप जस्तो देखिने यो स्तुप निक्कै भव्य छ र पोखरा तथा लुम्बिनी दुवै ठाउँका उस्तै देखिने शान्ति स्तुप जापानले निर्माण गरेको हो।

यसरी आआफ्ना धार्मिक मान्यता र कलाकृति झल्कने मन्दिरहरूको निर्माण गरेर लुम्बिनीमा धेरै मुलुकहरूले आफ्नो पहिचान दर्शाएका छन्। शान्ति स्तुपकै अगाडि बाल बुद्धको विशाल प्रतिमाले पनि ठूलो शोभा बढाएको छ।

लुम्बिनी परिसरभित्र रहेको लुम्बिनी भव्य संग्रहालयमा हामीले जाने अवसर पाएनौं यसपाली। तर सुन्नमा आए अनुसार त्यहाँ भगवान बुद्धसँग सम्बन्धित धेरै पुरातात्विक सामग्री, मौर्य र कुशान वंशका सिक्का, पौवा तथा चित्र, मूर्ति, कागजी अभिलेख तथा अन्य महत्वपूर्ण दस्तावेजहरू राखिएका छन्।

यो संग्रहालयको संगैनै बौद्ध धर्मको अध्ययन र अनुसन्धानको सुविधासहित लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था पनि स्थापित रहेछ। छोटो समयको निम्ति हामी त्यहाँ पुगेकोले यसको भित्र जान पनि जुरेन हामीलाई।

लुम्बिनी परिसरमा पहिले भन्दा धेरै बदलाव आएको र धेरै कुराहरू थपिएका भएता पनि त्यहाँ हुने निर्माण कार्यको रफ्तार ज्यादै ढिलो देखिन्छ। पछिल्लो समयमा नेपालका अन्य निकाय जस्तै लुम्बिनी विकास कोष आफैं नै भ्रष्टाचारको दलदलमा फस्न पुगेको छ।

भारतले उसको विहार प्रदेशका विभिन्न ठाउँहरू र नेपालको लुम्बिनीलाई समेटेर बुद्धिष्ट सर्किटको विकास गरेर बौद्ध धर्मावलम्वी र पर्यटकहरूलाई बुद्ध जन्मेको, बुद्धत्व प्राप्त गरेको र उपदेश दिएका स्थानहरूको भ्रमण गराउने गरेको छ।

तर नेपालले बुद्धको जन्मस्थल लुम्बिनी, उनको राज्यको राजधानी कपिलवस्तु जहाँ सिद्धार्थ गौतमले २९ वर्षको उमेरसम्म बसोवास गरे, यसको सेरोफेरोको तिलौराकोट, मायादेवीको माइत यानी सिद्धार्थ गौतमको मामाघर देवदह, बुद्धको शरीरको अवशेष गाडेर बनाइएका आठ स्तुपमध्येको एक रामग्राम स्तुप तथा वौद्ध धर्मसँग सम्बन्धित अन्य स्थलहरूलाई समेटेर पहिचान गरिएको वृहत लुम्बिनी क्षेत्रको समेत यथेष्ट विकास गर्न सकेको छैन।

यी सबै ऐतिहासिक ठाउँहरूको समग्र संवद्र्धन र एकीकृत रूपमा भ्रमण गर्न सकिने प्याकेज बनाउन सके वृहत लुम्बिनी भ्रमणले मात्र पनि पर्यटक र भक्तजनहरूको बसाईँलाई कम्तिमा ३ दिनसम्म लम्ब्याउन सक्ने थियो भने त्यस भेगको आर्थिक स्तरोन्नतीमा पनि ठूलो मद्दत पुग्ने थियो। संघले त गरेन अब प्रदेशले के गर्छ हेर्न बाँकी छ।

सन् १९८५ मा स्थापना भएको लुम्बिनी विकास कोषले आज ३८ वर्ष बितिसक्दा पनि आधारभूत संरचनाको पनि व्यवस्था गर्न सकेको छैन। विदेशी राष्ट्रहरूले आआफ्ना गुम्बा तथा ध्यान केन्द्रहरू नबनाएका भए आज लुम्बिनी यति पनि राम्रो हुन सक्ने थिएन।

३-४ वर्ष अगाडि एशियाली विकास बैंकको ऋण सहयोगमा ल्याइएका सौर्य उर्जाबाट चल्ने दर्जनौँ यातायातका साधन लुम्बिनी परिसरमा नै घामपानी सहेर थन्केर बसेका छन्।

त्यहाँ निर्माण भएको बौद्ध सम्मेलन केन्द्र अझसम्म पनि सञ्चालनमा आउन सकेको छैन भने लुम्बिनी विकास कोषकै अति सुन्दर भवन समेत मर्मतको पर्खाइमा छ। मुलुकका अति उच्च पदस्थ व्यक्तिहरू बेला वखतमा लुम्बिनीको भ्रमणमा गएता पनि उनको विशेष निर्देशनमा सम्पन्न भएका कुनै पनि ठोस योजनाहरू देख्न पाइएको छैन।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष बुद्ध पूर्णिमाका दिन लुम्बिनी भ्रमणमा जाँदा स्वागतको लागि पुगेका हाम्रा प्रधानमन्त्रीले मोदीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गराउने कुरा त परै जाओस्, सो विमानस्थललाई सुचारु बनाउन हवाई मार्ग उपलब्ध गराउने कुरामा समेत केही बोलेनन्।

करिव २ घण्टा यात्रा गरेको ट्याम्पुमा थकित मुद्रामा हामी लुम्बिनीको मुलद्वारमा आएर ओर्लियौं र सडक पारिको एक रेष्टुरेन्टमा खाना खाए पश्चात भैरहवा फर्कियौं।

यो भन्दा पहिलेका भ्रमणमा भन्दा निक्कै फरक अनुभव बटुलेर फर्कन पाएकोमा अर्को पटक लुम्बिनीलाई नै केन्द्रविन्दु बनाएर केही दिनको भ्रमणमा पुनः निस्कने निधोका साथ हामी घर फर्किएका थियौं।

नेपालको सट्टा लुम्बिनी जस्तो महत्वपूर्ण स्थल अरु कुनै मुलुकमा भएको भए यसको गुरु योजना मुताविकको पुर्वाधारको विकास १ दशक भन्दा कम समयमा नै तयार भइसक्ने थियो होला, तर नेपालले भने ५ दशकमा पनि गुरु योजना सम्पन्न गर्ने छाँटकाँट देखिँदैन। दुखका साथ भन्नु पर्दा हामीले जानेको एउटै कुरा ‘बुद्ध वज बर्न इन नेपाल’ हो।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *