सामाजिक चलचित्र निरमायाको प्रथम प्रदर्शन सम्पन्न

डिसी नेपाल
२३ माघ २०७९ १७:२०

काठमाडौं । परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिने छ भन्ने मूल उद्देश्यसहित मदानी मुभी एन्ड इन्टरटेन्टमेन्टद्वारा निर्माण भएको सामाजिक चलचित्र निरमायाको प्रथम प्रदर्शन भएको छ ।

नेपाल स्रष्टा समाजले २०७९ माघ २२ गते चलचित्र विकास बोर्डको हलमा प्रदर्शन गरेको निरमाया चलचित्र हेर्न उल्लेख्य साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

अनन्तप्रसाद तिमिल्सिनाको प्रस्तुति, रमेश कोइरालाको निर्देशन तथा कार्यकारी निर्माता महेश तिमिल्सिना र निर्माता रमेश दाहाल तथा रोजा तिमिल्सिना रहेको निरमाया चलचित्रमा कलाकारहरु रमेश बुढाथोकी, लय संग्रौला र नायक अजित लामिछाने जस्ता उम्दा कलाकारहरु र अन्य कलाकारले समेत सशक्त अभिनय गरेका छन् ।

चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछूतको विषय समेटिएको छ । समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उँचनिचको भेदभाव निर्मूल पार्नुपर्नेजस्ता विषयलाई चलचित्रमा देखाइएको छ ।

कला र सीपको राम्रो संयोजन रहेको “निरमाया” चलचित्रमा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ । चलचित्रको कथा मनछुने मार्मिक र सन्देशमूलक रहेको छ भने सबै कलाकारहरुको अभिनय अब्बल रहेको छ ।

चलचित्र पर्दशनपश्चात् अन्तर्किया कार्यक्रममा उपस्थित साहित्यकारहरुले चलचित्रका विषयमा आआफ्नो धारणा राखेका थिए ।

यस्ता खाले चलचित्रहरुलाई हरेक स्थानीय निकायमा प्रदर्शन गर्न राज्यले पनि सहयोग गरेमा जातिय छुवाछूतको अन्त्यमा न्यून हुने कुरा वरिष्ठ साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्माले बताए ।

वरिष्ठ साहित्यकार रोचक घिमिरेले चलचित्रको कथावस्तु र प्रस्तुतिले हरेक दर्शकको मन छुने र चलचित्रमा देखाइएको विम्वात्मक दृश्यले चलचित्रको उद्देश्यलाई थप प्रष्ट पारेको कुरा बताउँदै प्रस्तुतकर्ता तिमल्सिना रामेछापकै भएको र आफू पनि रामेछापमै जन्मिएको कारण यस चलचित्र आउनुमा आफू गौरवान्वित भएको कुरा बताएका थिए ।

साहित्य पत्रकार संघका राधेश्याम लेकालीले चलचित्रको सुरुवातको दृश्यले नै आफू प्रभावित भएको बताउँदै सहीदका सपनाहरुलाई सिंहदरबारले अझै पूरा गर्न नसकेको कुरालाई चलचित्रमा बडो विम्बात्मक भावमा प्रस्तुत गरिएको कुरा चर्चा गरेका थिए ।

चलचित्रका विषयमा वरिष्ठ साहित्यकार तुलसी दिवसले यस चलचित्र गाउँघरमा मात्र होइन शहरबजारमा पनि उत्तिकै सामाजिक चेतना जगाउन सक्ने भएको कुरा बताउँदै चलचित्रका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

चलचित्रका विषयमा बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, शान्ता मानवी, राजेन्द्र शलभ, पवन आलोक, विवश पोखरेल, डा. कुमार कोइराला, आयोजक संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन आदि साहित्यकारहरुले आफ्नो धारणा राखेका थिए भने साहित्यकारहरुका बीचमा चलचित्र प्रदर्शन गरी सिने कला र साहित्यलाई जोडेर ऐतिहासिक कार्य गरेको भन्दै निरमाया समूहलाई धन्यवाद व्यक्त गरेका थिए ।

साहित्यकार तथा मेडिकेयर अस्पतालका डा. अर्जुनदेव भट्ट, प्रशासक, साहित्यकार हरिभक्त सिग्देल, साहित्यकार खेमनाथ दाहालको समेत चलचित्र प्रदर्शनमा उपस्थित रहेको थियो ।

चलचित्रका विषयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरे, उपाध्यक्ष राजेन्द्र केसी, सदस्य सुमन वर्षा, मन्जिला शर्मा, कमला रिसाल, कल्पना खरेल, साहित्यकार बिक्रम भक्त जोशी आदिले चलचित्रका विषयमा संक्षिप्त प्रतिक्रिया दिएका थिए भने अनेसास नेपाल च्याप्टरका सदस्य एवं स्रष्टा समाजका सदस्य मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *