सार्वजनिक यातायात सुधारका लागि भन्दै तीनवटा संगठनहरुद्वारा संयुक्त आन्दोलनको तयारी

डिसी नेपाल
२६ माघ २०७९ १८:५१
196
Shares

काठमाडौं। सार्वजनिक यातायात सुधारका लागि भन्दै यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले संयुक्त रुपमा आन्दोलन गर्ने तयार गरेका छन्।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बिहीबार संयुक्त रुपमा काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गर्दै नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफै ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

उनीहरुले सवारीसाधनको २० वर्षे उमेरहद राखेर मोटर बिक्रेता विदेशी कम्पनीलाई खुसी पर्दै कमिसनको खेलमा लागेको आरोप लगाएका छन्।

भारतीय ढुवानीका साधनहरुले नेपालका विभिन्न सहरहरुमा सिधैँ ढुवानी गरेपछि नेपालका ढुवानी गर्ने साधनहरु विस्थापित हुँदै जाँदा पनि सरकार मौन रहेको, प्रयोजनविपरीतका सवारीसाधनहरुले यात्रु ओसारपसार गरिरहदा पनि सरकार मौन रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए।

आफुहरुको मागका बिषयमा गत माघ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दशबुँदे मागपत्र पेश गर्दै १५ दिने अल्टिमेटम दिएको र फागुन २ गतेसम्म आफुहरुको माग पुरा नभए निर्णायक आन्दोलन गर्ने उनीहरुको भनाइ छ।

ट्रेड युनियन संघहरु, यातायात स्वरोजगार तथा व्यवसायीहरु आफ्ना सम्पूर्ण सेवाहरु रोकेर, सडकमा प्रदर्शन गरेर आन्दोलन गर्ने यातायात श्रमिक संगठनले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *