गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय
काठमाडौं। सरकारले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो।
अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ। उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ।
गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरुसँग आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा छलफल गरेका थिए।
प्रधानमन्त्री दाहालले आगामी फागुन १ देखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गरेका छन्। सोही सिलसिलामा उनी भोलि सुदूरपश्चिम प्रदेशको सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ।
भ्रमणको अघिल्लो दिन उनले सो क्षेत्रका सांसदसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। “मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणासमेत गरेको थिएँ”, छलफलमा उनले भने, “गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने विषय मेरा लागि गौरवको विषय हो।”
“यो सुदूरपश्चिम र सिङ्गो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो”, प्रधानमन्त्री दाहालले भने, “नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा गर्ने सबैले विश्वास लिएका छौँ।”
गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतका काम दाहाल पहिलो र दोस्रोपटक प्रधानमन्त्री भएको बेला अघि बढेका थिए। गेटा मेडिकल कलेज सञ्चालनमा आएपछि सुदूरपश्चिमका नागरिकले सर्वसुलभ दरमा स्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन्। संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ।







डिसी नेपाल








Facebook Comment