टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो, संख्या दोब्बर हुनसक्ने

डिसी नेपाल
२ फागुन २०७९ १३:०२
84
Shares

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यसैबीच, संयुक्त राष्ट्र संघले अब भग्नावशेषमुनि दबिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय राहत एजेन्सी युएन एडका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्प पीडितलाई आवास, खाना, विद्यालयको व्यवस्था र मानसिक स्वास्थ्य सहयोग अहिले राहत एजेन्सीको केन्द्रविन्दु भएको र उद्धार कार्य लगभग सकिएको बताएका छन् ।

केही मानिस अझै पनि भग्नावशेषमुनि पुरिएको हुनसक्छ, भूकम्प गएको सात दिन बितिसक्दा पनि धेरैलाई भग्नावशेषबाट जिउँदै बाहिर निकालिएको छ ।

राष्ट्रसंघीय सहायता प्रमुखले सिरियाका विद्रोही नियन्त्रित क्षेत्रहरूमा सरकार नियन्त्रित क्षेत्रबाट सहायता सामग्री पुगोस् भन्ने राष्ट्रसंघले चाहेको बताएका छन् । सबैभन्दा धेरै विनाश विद्रोहीको क्षेत्रमा भएको छ । यस क्षेत्रमा सीमित सहयोग मात्र पुगिरहेको छ।

यसैबीच, अमेरिकी सरकारले सिरियाली राष्ट्रपति बसर अल-असदलाई विद्रोही नियन्त्रित क्षेत्रमा थप सहायता उपलब्ध गराउन आग्रह गरेको छ।

सहायता समूह ह्वाइट हेल्मेट्सले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रका मानिसहरू निराश भएको र संसारले उनीहरूलाई एक्लै छोडेको महसुस गरेको बताएको छ।

फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो । हालसम्म यस भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा ३७ हजार पुगेको छ । यद्यपि संयुक्त राष्ट्रसंघले यो संख्या दोब्बर हुन सक्ने बताएको छ ।

अहिले पनि भग्नावशेषबाट धेरै मानिस बाँचेका अचम्मका कथा बाहिर आइरहेका छन् ।

यसैबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोपमा हालसम्म ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *