वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु, दर्जनौं घाइते
काठमाडौं । वेस्ट बैंकमा इजरायली सुरक्षा बलले गरेको आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै ८० जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बुधबार बिहान इजरायली सुरक्षा बल पुरानो सहर नाब्लसमा प्रवेश गर्दा त्यहाँबाट विस्फोट र बन्दुकको आवाज सुनिएको थियो। इजरायलको सेनाले एउटा घरमा घुसेर त्यहाँ लुकेर बसेका तीनजना अतिवादीलाई मारेको बताएको छ ।
बाहिर मारिएकाहरू मध्ये, त्यहाँ धेरै सामान्य व्यक्तिहरू छन्, जसमा कम्तिमा दुई जना वृद्धहरू छन्। प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ७२ वर्षीय अदनान साबे बारा तीमध्ये एक हुन्। तीव्र गतिमा फैलिरहेको भिडियोमा उनको शव रोटीको प्याकेट नजिकै देखिएको छ ।
मन्त्रालयले ६१ वर्षीय अब्दुल हादी अस्कर र १६ वर्षीय मोहम्मद शाबानको पनि मृत्यु भएको जानकारी दिएको छ। अर्का एक वृद्ध अमन शौकत अनबको बुधबार बिहान अश्रुग्यासबाट निसासिएर अस्पतालमा मृत्यु भएको हो ।
चरमपन्थी संगठन लायन्स डेनले टेलिग्राम पोस्टमा आफ्ना र अन्य संगठनका छ जना सदस्य मारिएको बताएको छ। यस हमलामा ज्यान गुमाउनेहरु बाहेक घाइतेहरुको संख्या धेरै छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेहरुको पाँच अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
इजरायली सेनाले गत महिना जेनिनमा पनि यस्तै आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो। यो सन् २००५ यता वेस्ट बैंकमा इजरायली आक्रमणमा सबैभन्दा बढी मृत्यु हुनेको संख्या हो।
Facebook Comment