लामो समयपछिको वर्षाले किसान खुसी
इलाम। लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन्। हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन्। असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो।
पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन्। आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे। किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताए।
उनले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिने बताए। लामो समयसम्म वर्षा नहुँदा जमिन सुक्खा भएकाले किसानले बारी खनजोत गर्नसमेत पाएका थिएनन्। अब भने सहजरुपमा खनजोत गर्न पाइने यहाँका किसानको भनाइ थियो।
पानी नपरेपछि खोलानाला सुक्दै गएका थिए। खोला खोल्सामा पानी नहुँदा सिंचाइमा समेत समस्या हुँदै आएको थियो। अब भने केही समयका लागि पाइप लगाएर सिचाइमा खट्नु नपर्ने किसानको भनाइ थियो।
पानीले घाँससमेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसानसमेत उत्साहित भएका छन्। तराईबाट सुख्खा पराल ल्याउनु पर्ने बाध्यता रहेकामा अहिले परेको पानीले समयमै घाँससमेत पलाउने उनीहरुको अपेक्षा थियो। सुख्खा नलागे वैशाखदेखि बर्खे घाँस काट्न पाइने अनुमान गरिएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment