नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने

डिसी नेपाल
१३ फागुन २०७९ २२:१५
24
Shares

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ।

नेविसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेविसङ्घ पुल्चोक क्याम्पसको सहआयोजनामा यही फागुन १६ देखि १८ गतेसम्म पुल्चोकमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको हो।

नेविसङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले पुल्चोक क्याम्पसमा हुन लागेको ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्यालाई उजागर गरी समाधानको प्रयास थालिने जानकारी दिए।

अध्यक्ष शेर्पाले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको भन्दै विद्यार्थीले सो विश्वविद्यालयको विकल्प खोजिरहेको बताए।

“त्रिविमा प्रश्नपत्र दोहोरिराख्ने, समयमा परीक्षा नहुने, समयमा परीक्षा हुँदा पनि छ महिना, एक वर्षमा नतिजा नआउने समस्या छ, अहिले हाम्रा विद्यार्थीले अनुसन्धानमा ध्यान दिन सकेका छैनन्”, उनले भने।

नेविसङ्घले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो।

ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घण्टौँ लामो लाइन र पटकपटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा प्रणालीमा भएको ढिलासुस्ती र नतिजा प्रकाशनको अनिश्चितता, शेयर कारोवार गर्दा देखिने सर्भर त्रुटि जस्ता विद्यमान समस्याको समाधान ह्वाकाथुनमार्फत खोजिने अध्यक्ष शेर्पाले बताए।

ह्याकाथुन कार्यक्रममार्फत काठमाडौँलगायत देशभरका सहरमा बढ्दो प्रदूषण र फोहर व्यवस्थापनलाई प्राविधिक सहायतामा कसरी समाधान गरेर सफा र सुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा प्रणाली तयार पारिने नेविसङ्घले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *