इजरायल र प्यालेस्टाइनमा हिंसा न्यूनीकरणमा सहमति, जोर्डनमा महत्वपूर्ण वार्ता
काठमाडौं । इजरायल सरकार र प्यालेस्टिनी प्राधिकरणले हिंसामा वृद्धि कम गर्न संयुक्त प्रयास गर्ने घोषणा गरेका छन्।
अमेरिका र इजिप्टको उपस्थितिमा जोर्डनमा भएको वार्तापछि यो घोषणा गरिएको हो । बैठक जोर्डनको एकमात्र तटीय सहर अकाबामा भएको थियो।
यस भेटमा दुई पक्षबीच विश्वास निर्माणका लागि आवश्यक कदम चाल्न पनि सहमति भएको छ । तत्काल र दिगो शान्तिका लागि काम गर्ने निर्णय भएको छ ।
यस वर्षको हिंसामा विद्रोहीसहित कूल ७० जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले केही घन्टाअघि बैठकको बारेमा जानकारी दिएका थिए ।
आफ्नो ट्विटमा उनले भने, ‘आजको इजरायल र प्यालेस्टाइनबीच अकाबामा भएको वार्ता सकारात्मक कदम हो । सबै पक्षले तनाव कम गर्न र शान्ति स्थापना गर्नु महत्त्वपूर्ण छ।’
तर, यो कुराकानी चलिरहँदा आइतबार प्यालेस्टाइनका एक हतियारधारी व्यक्तिले वेस्ट बैंकमा दुई इजरायली नागरिकको गोली हानी हत्या गरेका थिए ।
इजरायलले नाब्लस नजिकै हवारा गाउँमा भएको घटनालाई ‘प्यालेस्टाइनीको आतंकवादी हमला’ भनेको छ।
इजरायली सेनाका अनुसार आक्रमणकारीको खोजी भइरहेको छ र वेस्ट बैंकमा थप दुई सैन्य बटालियनहरू तैनाथ गरिएको छ।
मृतक मध्ये एक जना इजरायली सैनिक समेत रहेको बताइएको छ ।
आइतबार भएको आक्रमणको केही घण्टापछि त्यहाँ बसोबास गरेका धेरै मानिस हवारा गाउँमा प्रवेश गरे र ढुंगामुढा गर्न थाले । उनीहरुले त्यहाँ रहेका गाडी र रुखमा आगजनी गरेका थिए ।
प्यालेस्टिनी स्रोतका अनुसार घटनामा कम्तिमा १५ घर र धेरै कारहरू जलेका छन्। यो घटनाबाट त्रसित धेरै परिवारले घर छाडेका छन् ।
यस घटनामा सयौं मानिस घाइते भएको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment