खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल

डिसी नेपाल
१८ चैत २०७९ २१:५५
12
Shares

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताएका छन् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिले आजदेखि यहाँ सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताए ।

उनले भने, “खेलकुद मानवीय जीवनको अङ्ग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, भक्तपुरले पनि देश–विदेशका विभिन्न प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राख्न सक्ने गरी खेलाडी उत्पादन गर्न सफलता हासिल गर्नुपर्छ ।” उनले खेलकुदबाट भाग्ने होइन, अभिन्न अङ्ग बनाएर अगाडि जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले भक्तपुरमा खेलुकुदको विकास तीव्रगतिमा भइरहेको बताउँदै भक्तपुरलाई सम्पदाको जिल्लाबाट मात्रै होइन, उत्कृष्ट खेलाडी रहेका खेलकुदको जिल्ला पनि हो भनेर चिनाउने गरी खेलकुदका गतिविधि भइरहेको बताए ।

प्रतियोगिता यही चैत २३ गतेसम्म सञ्चालन रहने बताउँदै उनले प्रतियागिताबाट कराते, तेक्वान्दो, एथलेष्टिक, बक्सिङ, आइटीएफ तेक्वान्दो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनोट गरिने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *