मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै
दोधारा चाँदनी। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ।
सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए। जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो।
“मध्यम जोखिम भएका क्षेत्रका झुल वितरण गरेका छौँ”, भट्टले भने, “सरकारको योजनाअनुसार सन् २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यले काम भइरहेको छ।” त्यसैगरी भीमदत्तका वडा नं ९, १० र बेदकोट नगरपालिकाका वडा नं १, २ र ६ का सबै नागरिकलाई झुल वितरण गरिएको छ।
कञ्चनपुरमा चालु आर्थिक वर्षमा २१ मलेरियाका बिरामी फेला परेका छन्। तीमध्ये १६ बाहिरबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएको भट्टले बताए। त्यसमध्ये छ जनामा कडा खाले मलेरिया देखिएको छ भने अन्य १४ मा कम कडा भएको मलेरिया देखिएको निरीक्षक भट्टले बताए।
“जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो मलेरिया देखिने गरेको छ”, उनले भने, “पछिल्ला वर्षको तथ्याङ्क हेर्दा जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विबक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखा परेका जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment