पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही
वीरगञ्ज। बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ।
अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो।
चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट रु एक लाख ४९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्बेले जानकारी दिए।
यस्तै चालु आव २०७९/८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी दुई सय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको जनाएको छ। सो अवधिमा एक हजार छ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र ६ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताए।
यस्तै उक्त अवधिमा एक सय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उनले जानकारी दिए। ती सबै शीर्षकबाट रु ८० लाख ३४ हजार तीन सय राजस्व सङ्कलन भएको सूचना अधिकारी खङ्गले बताए। म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment