पूर्व गोर्खाली सैनिकलाई देशनिकाला गर्ने निर्णय बेलायतले तत्काललाई रोक्यो

डिसी नेपाल
२५ चैत २०७९ १०:०८
124
Shares

काठमाडौं । बेलायतबाट निष्कासन गर्ने निर्णय गरिएका १३ भूतपूर्व गोरखा सैनिकको मुद्दामा बेलायत सरकारले पुनर्विचार गर्ने जनाएको छ । यी सबै पूर्व सैनिक अफगानिस्तानबाट बचाएर बेलायत ल्याइएका हुन् ।

यी पूर्व सैनिक अफगानिस्तानस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । तर, काबुलमा तालिवानको शासन आएपछि उद्धारकर्ताहरूले उनीहरूलाई बेलायत लगे।

अहिले उनीहरु सबै लण्डनमा काम गरिरहेका छन् । तर गत साता ती व्यक्तिलाई अचानक हिरासतमा लिएर नेपाल वा भारत फिर्ता पठाइने बताइयो ।

बेलायतको गृह मन्त्रालयले तत्कालका लागि यी व्यक्तिहरूलाई बेलायतबाट बाहिर निकाल्ने निर्णयमा ‘रोक’ लगाइएको जनाएको छ।

यी १३ जनालाई बेलायतमा बस्ने कानूनी अधिकार रहेको यी सैनिकका वकिलहरूले बताएका छन् ।

यी नेपाली र भारतीय नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ ।

तिनीहरू सबै एक निजी सुरक्षा फर्ममा काम गर्थे, जसलाई काबुलमा बेलायत र क्यानाडाली दूतावासहरूको सुरक्षाको जिम्मेवारी दिइएको थियो।

अफगानिस्तानको राजधानी काबुल अगस्ट २०२१ मा तालिवानको नियन्त्रणमा आयो। त्यसपछि राष्ट्रपति असरफ गनीको सरकार पतन भयो र उनी देश छोडेर भागेका थिए।

यस अवधिमा ब्रिटिश सेनासँग काम गरेका हजारौं अफगान र सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *