यमनमा युद्धविरामको आशा जाग्यो, साउदी अरेबिया र हुथी विद्रोहीबीच वार्ता हुँदै

डिसी नेपाल
२७ चैत २०७९ १०:३२
100
Shares

काठमाडौं । हुथी विद्रोहीसँग वार्ता गर्न साउदी अरबको प्रतिनिधिमण्डल हाल यमनको राजधानी सानामा छ । यी दुई पक्षबीच नयाँ र स्थायी युद्धविरामका लागि वार्ता भइरहेको छ । यस वार्तामा मध्यस्थता गर्न ओमानको टोली साना पुगेको छ ।

यद्यपि साउदी पक्षले यी दावीहरूको आधिकारिक रूपमा पुष्टि गरेको छैन, हुथी विद्रोहीहरूले साउदी अरेबिया र ओमानका प्रतिनिधिहरू सानामा रहेको रिपोर्ट गरेका छन्।

तर, लीक भएको तस्बिरमा हुथी नेता मोहम्मद अली अल-हुथी साउदी अरेबियाका एक अधिकारीसँग हात मिलाउँदै गरेको देखिन्छ। यो तस्बिरमा साउदी अरेबियाका अधिकारीको अनुहार छोपिएको छ ।

यो पहललाई दुवै पक्षको यो युद्ध अन्त्य गर्ने चाहनाको सङ्केत मानिएको छ ।

यसबारे आधिकारिक रूपमा कुनै पनि अधिकारीले टिप्पणी गरेका छैनन् तर यो महिनाको अन्त्यसम्ममा सहमति हुन सक्ने बताइएको छ । अर्कोतर्फ यो सम्झौताका सर्तहरू पनि खुल्न सकेको छैन ।

सन् २०१५ मा यमनको सरकारको पतनपछि राजधानी सानामा हुथी विद्रोहीको नियन्त्रण कायम छ । हुथी विद्रोही र साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनबीच चाँडै लडाइँ सुरु भयो।

यमनले यसको गम्भीर परिणाम भोग्नुपरेको थियो। यस युद्धमा हालसम्म १०,००० भन्दा बढी मानिस मारिएका छन्, जबकि यमनको ८० प्रतिशत जनसंख्या बाहिरबाट आउने राहत सहायतामा निर्भर छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *