मेयर बालेनलाई सरकारले किन गरायो सचेत ?

डिसी नेपाल
२९ चैत २०७९ ७:०८

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न नगरप्रमुख शाहलाई सचेत गराउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहको अभिव्यक्ति अव्यावहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सचेत गराउने निर्णय भएको बताइन् ।

सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुख शाहको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको उनले बताइन् । उनले बैठकमा नीतिगत व्यवस्थानुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् । ‘सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल भएको छ,’ प्रवक्ता शर्माले भनिन्, ‘उहाँको अभिव्यक्ति राम्रो छैन भन्ने लगायत नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरामा छलफल भएको छ ।’

एक दिनअघि मात्रै नगरप्रमुख शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा नगरिएको भन्दै संघीय सरकारका रूपमा रहेको सिंहदरबारले स्थानीय सरकारसँग समन्यवय गर्न नचाहेको समाजिक सञ्जालमा उल्लेख गरेका थिए । विगत तीन दिनदेखि सिंहदरबारको फोहोर उठेको छैन ।

यसैबीच, मन्त्री शर्माले बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा कीटनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको पनि जानकारी दिइन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउने ’boutमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताए ।

उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सरकारले पछिल्लो समय अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि दाबी गरे ।

उनले सरकारले राजस्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्ने ’boutमा जोड दिइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको दाबी गरे । झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको उनको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको बताए । उनले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि जानकारी गराए । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *