राति ११ बजेभित्र मतपेटिका मतगणनास्थल पुर्याइने
काडमाडौं। तीन वटा क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतपेटिकाको ढुवानी सुरू भएको छ। मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ।
आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्याइने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन जिल्ला क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १०ः०० बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ।
मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ।
जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ५३ प्रतिशत मतदान भएकोे छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ दशमलव ५६ प्रतिशत चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६७ दशमलव ६३ प्रतिशत तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं.१ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो।
यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए।







डिसी नेपाल








Facebook Comment