व्यवसायी कँडेल मृत्यु प्रकरण : दुई जनाविरुद्ध उजुरी

डिसी नेपाल
२० वैशाख २०८० १५:०७
15.7k
Shares

चितवन। पोल्ट्रि व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ।

कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए। परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुंटा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति समाजिक सञ्जाल ह्वाटसबमार्फत उजुरी आएको बताए। कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य थिए।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाटसबमा पठाएका हुन्। कँडेलले आत्महत्या अघि लेखेको नोट अध्ययन गरेर अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिए। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुंटालाई बेचेका थिए।

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ। उजुरीपछि दुबै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

घटनाको थप अनुसन्धान साँझबाटनै सुरु गरिएको उनको भनाइ छ। कँडेल जिल्लाका लोकप्रिय थिए। भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगैपछि तत्कालीन समयमा पछिहटेका थिए। उनी भरतपुर महानगरपालिका–८ निवासी रहेका थिए। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *