विद्यालय हिँडेका बालबालिका विद्यालय पुग्नै पाएनन्….

डिसी नेपाल
२० वैशाख २०८० १९:५२
3.3k
Shares

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए । बिहान ९ः३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर तयारी अवस्थामा थिए ।

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खाना खाइवरी बस कुर्नका लागि सडक छेउमा बसिरहेका हुन् । यतिकैमा अचानक डुम्रेतर्फबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो । उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो ।

ठक्करबाट विद्यालय जान तयारी गरिरहेका छ विद्यार्थी र अन्य दुई जना घाइते भए । विद्यालय जान हिँडेका विद्यार्थी घाइते भएपश्चात् अस्पताल जान बाध्य भए । घाइते अवस्थामा उनीहरुलाई तत्कालै चितवनको पुरानो मेडिकल कलेज पठाइयो । घाइतेमध्ये १२ वर्षीय आयुष भुजेलको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामै घाइते ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

“बालबालिका विद्यालय जाने तयारीसहित बसिरहेका थिए, एक्कासि ट्रक आएर ठक्कर दियो । एक जना बाबुको मृत्यु भयो, अन्य पाँच जना बालबालिका घाइते अवस्थामा उपचाररत छन्”, बन्दीपुर–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले भने, “विद्यालय हिँडेका बालबालिका अस्पताल जानुपर्दा दुःखद् भयो ।”

ट्रकको ठक्करबाट तीन जनाले ज्यान गुमाएपछि याम्पा आँधीखोला शोकमा डुबेको लामिछानेले बताए । घरदेखि १५\२० मिनेटको दूरीमा अवस्थित विद्यालय जान बालबालिका सधैँ गाडी चढेर पुग्थे ।

दुर्घटनामा सोही विद्यालयमा अध्ययन गर्ने छ वर्षीया आयुषा भुजेल, दश वर्षीया जस्मिन भुजेल, दश वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समिर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *