बेमौसमी आलु खेतीः सोचेभन्दा बढी उत्पादन

डिसी नेपाल
२७ वैशाख २०८० १४:३९
328
Shares

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल हुनुभएको छ । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उनले छ क्विन्टल उत्पादन गरेका छन्।

नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उनले पहिलो पटक परीक्षणका रुपमा आलु रोपेका हुन्। एउटै बोटमा दुई किलोसम्म आलु उत्पादन भएको उनले बताए।

“आधा कट्ठा जग्गामा अनुदानमा पाएको आलु रोपेको थिए”, बमनुले भने, “अपेक्षा गरेभन्दा निकै बढी उत्पादन भएपछि उत्साहित बनाएको छ ।” अब बढी जग्गामा आलु रोप्ने योजना बनाएको उहाँले सुनाए। उनका अनुसार बेमौसमी आलुको माग निकै बढी रहेको छ ।

“रु एक सयप्रति किलोका दरले आलुको बीउ बिक्री गर्दा पनि किसानले माग गर्न छाडेका छैनन्”, उनले भने, “आफूलाई रोप्न राखेर बीउ अरूलाई बेच्न थालेको छु ।” फागुनमा रोपेको बेमौसमी आलुलाई किसानले वैशाखको दोस्रो सातादेखि खन्न सुरु गरेका छन् ।

खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । कालागौंडीका किसान ठग्गु रानाले बेमौसमी आलु खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने बताए। पहिलो पटक खेती गर्दा निकै बढी उत्पादन भएकाले एक बिघामा खेती गर्ने योजना बनाएको उनले बताए।

पहाडी क्षेत्रमा मात्रै लगाइने गरेको बेमौसमी आलु तराईमा पहिलो पटक खेती गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। “नगरपालिकाले आलुको बीउको गरेको परीक्षण सफल भएको छ”, उनले भने, “बढी उत्पादन हुने आलु प्रवर्द्धन गर्न वडा कार्यालयबाट योजना बनाइ किसानलाई बीउ, रासायनिक मल र सिँचाइमा प्रोत्साहित गर्छौं ।”

नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले परीक्षणका रुपमा बेमौसमी आलुको बीउ चारभन्दा बढी वडाका किसानलाई अनुदानमा वितरण गरिएको बताए।

“झन्डै २० क्विन्टल बढी आलु किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका हौँ”, उनले भने, “४० बढी किसानले बेमौसमी आलु खेती गरेका छन्, उत्पादन सन्तोषजनक भएको प्रतिक्रिया पाइएको छ ।”

बेमौसमीसँगै स्थानीय जातको आलु खेतीलाई प्रवर्द्धन गर्न किसानलाई आगामी योजनामा पनि निरन्तर रुपमा अनुदान उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए।

किसानलाई उपलब्ध गराइएको २० क्विन्टल आलुको बीउबाट ८५ क्विन्टल बढी आलु उत्पादन भएको कृषि शाखाको अनुमान छ । उत्पादन भएको आलुलाई कृषि शाखाले अरू आलु खेती गर्न चाहने किसानलाई उपलब्ध गराउने योजना बनाएको छ ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *