पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास
मोरङ। पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंकको शाखा कार्यालय र सभागृह बन्ने भएको छ। विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७५० सिट क्षमताको सभागृहको शिलान्यास गरेका छन्।
विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दाहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्ने बैंकले जनाएको छ। साथै, बैंकले विश्वविद्यालयको लागि सभागृह निर्माणमा पनि सहयोग गर्ने भएको छ।
शिलान्यास कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति अशोक राईले बैंकले नाफा नहेरी यो कार्य गरेको भन्दै खुसी व्यक्त गरे। ‘यस किसिमको सहकार्यले बैंक नाफा केन्द्रित मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्छ भन्ने सन्देश जानेछ’ मन्त्री राईले भने।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले पूर्वाञ्चल विश्वविद्यालयमा शाखा कार्यालय निर्माण ३ महिना भित्र सकिने र शाखा सञ्चालनमा आउने बताए। उनले नबिल बैंक बैंकिङ क्षेत्रमा नै नयाँ सेवा सुविधाहरू प्रदान गर्ने अग्रणी बैंक रहेको र सूचना प्रविधिमा आधारित सेवा विस्तारमा बैंक शीर्ष स्थान रहेको जानकारी गराए।
विश्वविद्यालय उपकुलपति यादवराज कोइरालाले विश्वविद्यालय परिसरमै अपरिहार्य बनेको बैंक शाखा र सभागृह बनाउन थालेकोमा खुसी व्यक्त गरे। उनले यस क्षेत्रमा शाखा कार्यालय खोल्नुले विश्वविद्यालयका कर्मचारी, विद्यार्थी, प्राध्यापकका साथै गोठगाउँका बासिन्दाहरूलाई पनि वित्तीय कारोबारमा सहयोग पुग्ने बताए।
विश्वविद्यालयका रजिष्टार नीलमणि पोखरेलले सभागृह र बैंकको शाखा कार्यालय बन्नु विश्वविद्यालय र स्थानीयको लागि खुसीको विषय भएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment