व्यक्तिगत प्रयोजनका लागि लिएको रकमले अनुसन्धानमा तानिए रिजाल
काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको पर्दाफास भइरहेको बेलामा भुटानबाट निर्वासित भएर नेपालमा शरणार्थीको रुपमा जीवनयापन गरेका टेकनाथ रिजाल पक्राउ परेका छन्।
उनलाई नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका अन्यको बयान र प्रहरीले प्राप्त गरेको प्रमाणको आधारमा बिहीबार काठमाडौंबाट पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौंले उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।
यस अघि विभिन्न समयमा देशका उच्च पदस्थ नेतादेखि सरकारी कर्मचारीहरु यस प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परिसकेका छन्।
बिहीबार रिजालसहित हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेपछि अनुसन्धानका लागि हिरासतमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।
नेपालमा लामो समय देखि निर्वासित जीवन बिताएका भुटानी मानवअधिकारवादी नेता रिजाल भुटानको उपल्लो दर्जामा पुगेका नेपालीभाषी हुन्। भुटानी सरकारको दमनमा परेर देश छाड्न बाध्य भएका उनी नेपालमा रहेका भुटानी शरणार्थीको पक्षमा वकालत गर्दै आएका थिए।
उनले भुटानबाट विस्थापित भएर नेपालमा सन् १९९० देखि शरणार्थीको रुपमा बसिरहेका भुटानीलाई तेसा्रे मुलुक पुनर्वास कार्यक्रममा असहमति जनाउँदै ससम्मान स्वदेश फर्काउनुपर्ने पक्षमा संघर्षरत थिए। स्वदेश फिर्ताको आन्दोलनमा अथक रुपमा लागेका रिजाल नेपाल सरकारलाई भुटान फर्कने वातावरण मिलाउन तारन्तार दबाव दिएका थिए।
भुटानमा मानवअधिकार र राजनीतिक क्षेत्रमा योगदान गरेका रिजाल त्यहाँको राजसभाका सदस्य समेत भएका थिए। उनी भुटानी राज्यसभाका सांसद रहेका स्थापित राजनीतिज्ञ, समाजसेवी तथा नेपालीभाषीको पक्षमा संघर्षशील अधिकारकर्मी हुन्।
भुटानमा नेपालीभाषी हकहितका लागि सक्रियता बढाएका उनले तत्कालीन भुटानी राजासँग नेपाली भाषीमाथि गरिएको अन्यायपूर्ण कार्यको विरोध गरेका थिए। जातीय सफायाको नाममा नेपालीभाषीहरुलाई देशबाट लखेट्ने भुटानी राजाको मनशाय बुझेपछि राजाको उक्त कदमको विरोध गरेका उनलाई नजरबन्दमा राखिएको थियो।
सोही क्रममा भागेर सन १९८८ मा नेपाल आएका उनलाई नेपाल सरकारले पक्राउ गरेर भुटानमा सुपुरदगी गरेको थियो। त्यसपछि भुटानमा दशवर्ष जेलजीवन व्यतित गरेर १९९७ मा रिहा भएपछि नेपालमा आएर शरणार्थीको रुपमा परिवारसहित झापामा बसोबास गरिरहेका थिए।
उनका दुई छोरा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत क्यानडा पुगिसकेका छन्। छोराहरु आफ्नो इच्छाविपरित तेस्रो मुलुक पुनर्वास कार्यक्रमा गएको उनले बताएका थिए। भुटान फर्कन पाउनुपर्ने अडान हालसम्मै कायमै राखेका उनले यही कारणले छोराहरुसँग सम्बन्ध बिग्रिएको उनी सुनाउँथे।
नेपाल सरकारले उनको सुरक्षा र व्यवस्थापनका लागि आर्थिक सहायता गर्दै आएको थियो। बिहीबार उनै भुटानी शरणाथी नेता रिजाल नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि उनको छविमा प्रश्न उठेको छ।
प्रहरीको अनुसन्धानका क्रममा उनले यसअघि पक्राउ परेका गिरोहका सदस्यहरुसँग आर्थिक लेनदेन गरेको प्रमाण भेटिएको स्रोत बताउँछ। हाल प्रहरी अनुसन्धानमा रहेका नक्कली शरणार्थी प्रकरणका मुख्य गिरोहसँगको लेनदेन रहेको बताइएको छ।
यद्यपि उक्त आर्थिक लेनदेन व्यक्तिगत प्रयोजनका लागि गरिएको रिजालले बताउँदै आएका थिए। उनले मोरङ शनिश्चरेका नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सागर राईसँग सात लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ।
मोरङ पथरी शनिश्चरे नगरपालिका १० को वडाअध्यक्ष हुँदा राईसँग व्यक्तिगत प्रयोजनका लागि लिएको उक्त सापटी रकम फिर्ता गरिसकेको केही दिन अघि डिसी नेपाललाई बताएका थिए।
प्रहरीले अनुसन्धानको क्रममा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका राईको डायरीमा सोही रकम रिजालले लिएको फेला पारेपछि सोही प्रमाणका आधारमा अनुसन्धानमा तानिएको स्रोतको दाबी छ।







डिसी नेपाल








Facebook Comment