उत्तर कोरियाको स्याटेलाइट समुन्द्रमा खसेपछि दक्षिण कोरियामा खैलाबैला
काठमाडौं । उत्तर कोरियाले दुर्घटनाका कारण अन्तरिक्षमा पहिलो स्याटेलाइट स्थापना गर्ने प्रयास असफल भएको बताएको छ । यो स्याटेलाइट समुन्द्रमा खसेको छ ।
उत्तर कोरियाको रकेट प्रक्षेपणको कारण, जापानले ओकिनावा टापुका बासिन्दाहरूलाई चेतावनी जारी गर्नुपरेको थियो। तर, जापानले पछि भने आफ्नो भूभागमा कुनै क्षति हुने खतरा नरहेको बताएको थियो ।
उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ अघि भूउपग्रह प्रक्षेपण गर्ने बताएको थियो । यो प्रयास असफल भएपछि उत्तर कोरियाले छिट्टै अर्को भूउपग्रह प्रक्षेपण गर्ने प्रयास गर्ने बताएको छ ।
यसै क्रममा जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने कि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको देखिन्छ । उनले जापान सरकारले तथ्यांक विश्लेषण गरिरहेको बताए ।
यस प्रक्षेपणबाट जापानको क्षेत्रमा कुनै क्षति नभएको उनले बताए । यसअघि जापानले आफ्नो क्षेत्रलाई खतरामा पार्ने जुनसुकै कुरालाई पनि गोली हान्न तयार रहेको बताएको थियो ।
अर्कोतर्फ, दक्षिण कोरियाको राजधानी सियोलमा बुधबार बिहानै खैलाबैलाको वातावरण बनेको छ । यहाँ हवाई आक्रमणको चेतावनी दिन साइरन बजाइएको थियो र मानिसहरूलाई आपतकालीन चेतावनी सन्देशहरू पठाइयो। मानिसहरूलाई ठाउँ खाली गर्न तयार हुन भनियो। तर, २० मिनेटपछि पुनः पठाइएको आपतकालीन सन्देशले पहिलो सन्देश गल्तीले पठाएको बताएको छ ।
कोरियाली प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाबीच विगत ७० वर्षदेखि तनाव जारी छ । चेतावनी अलार्मको झूटो घण्टीले यो चेतावनी प्रणालीमा जनताको विश्वास तोड्न सक्छ।
बुधबार उत्तर कोरियाको स्याटेलाइट प्रक्षेपण प्रयास अघि अमेरिकाले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको उल्लंघन हुने बताएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment