अमेरिकी नेतृत्वको सैन्य गठबन्धनबाट अलग भएको विषयमा युएईले दियो यस्तो स्पष्टीकरण

डिसी नेपाल
१८ जेठ २०८० ११:२३

काठमाडौं । संयुक्त अरब इमिरेट्स मध्यपूर्वमा अमेरिकी नेतृत्वको समुद्री सुरक्षा गठबन्धनबाट बाहिरिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार युएईले आफ्नो रक्षा सम्बन्धको मूल्याङ्कन गरेर दुई महिनाअघि यो निर्णय गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

“युएईले आफ्ना सबै साझेदारहरूसँग प्रभावकारी रक्षा सहयोगको मूल्याङ्कनको रूपमा दुई महिना अघि संयुक्त समुद्री बलबाट फिर्ता हुने निर्णय लिएको थियो,” राज्य समाचार एजेन्सी डब्लुएएमद्वारा प्रकाशित विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि युएईको विदेश मन्त्रालयले बुधबार ‘अमेरिका र युएईबीचको सामुद्रिक सुरक्षासम्बन्धी प्रतिवेदनमा तथ्यको गलत प्रस्तुति’ अस्वीकार गर्दै स्पष्टीकरण दिएको छ ।

परराष्ट्र मन्त्रालयले आफ्नो स्पष्टीकरणमा क्षेत्रीय सुरक्षा र स्थायित्वको साझा लक्ष्य हासिल गर्न शान्तिपूर्ण वार्ता र कूटनीतिक सम्बन्ध कायम गर्न युएई प्रतिबद्ध रहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा जोड दिएको छ, “अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो सामुद्रिक क्षेत्रमा सुरक्षित नेभिगेसन सुनिश्चित गर्न युएई प्रतिबद्ध छ।”

संयुक्त सामुद्रिक बल ३४ देशको टास्क फोर्स हो, जसको मुख्यालय बहराइनमा रहेको अमेरिकी नौसेना बेसमा रहेको छ।

यसले लाल सागर र खाडी क्षेत्रमा रक्षा, आतंकवाद विरोधी र काउन्टर पाइरेसीमा काम गर्दछ।

यो क्षेत्र विश्वको सबैभन्दा महत्त्वपूर्ण ढुवानी मार्गको एक हिस्सा हो र सन् २०१९ देखि अमेरिका र इरानबीचको तनाव बढेपछि यहाँबाट गुज्रने कार्गो जहाजमा धेरै आक्रमणहरू भएका छन्।

पाँच साताअघि इरानले खाडीको स्ट्रेट अफ हर्मुज नजिक दुईवटा ट्याङ्कर कब्जा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *