विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता

डिसी नेपाल
१९ जेठ २०८० १३:५७
152
Shares

काठमाडौं। काठमाडौंको गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसका विद्यार्थीले स्थानीय जनप्रतिनिधिसँग वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी कामबारे अन्तरक्रिया गरेका छन्।

उनीहरूले मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘क्लिन अप प्रिमियर लिग’को अवसरमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई फोहोर व्यवस्थापनसम्बन्धी पालिकाको नीति तथा कार्यक्रमबारे प्रश्न गरेका थिए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामा, वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङ, ८ नम्बर वडाका अध्यक्ष नन्दलाल श्रेष्ठ र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।

कार्यक्रममा उपमेयर लामाले फोहोर व्यवस्थापनसम्बन्धी सचेतना फैलाउन विद्यार्थीसँग हातेमालो गर्ने प्रतिबद्धता जनाइन्। जनप्रतिनिधिहरूले गोकर्णेश्वरलाई स्वच्छ बनाउन विभिन्न कार्यक्रम गर्ने र आगामी दुई वर्षभित्रमा यहाँको फोहोर बन्चरेडाँडा पठाउनुनपर्ने बताए।

कार्यक्रममा विद्यार्थीहरूले कवितावाचन तथा उनीहरूले बोतल, कार्डबोडलगायत सामग्रीबाट निर्माण गरेका कलाकृति प्रस्तुत गरेका थिए। दैनिक जीवनमा फोहोर भनेर फालिने वस्तुहरूबाट घर, फूललगायत सामग्री बनाएका थिए। उनीहरूले मैला व्यवस्थापनसम्बन्धी जनचेतनामूलक चित्रहरू पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्थानीय सामाजिक अभियन्ताहरूलाई सम्मान पनि गरिएको थियो। यस्तै, फाउन्डेसनका सञ्चालक केपी खनालले यस्ता कार्यक्रमले जनचेतना फैलाउनुका साथै फोहोरमैलासम्बन्धी विविध कार्यक्रम गर्न ऊर्जा मिल्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *