नयाँ व्यवस्था अनुसार विदेशबाट फर्कँदा के-के ल्याउन पाइन्छ? के मा भन्सार तिर्नुपर्छ?
काठमाडौं। सरकारले झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गरेसँगै विदेशबाट नेपाल फर्किदा यात्रुले आफ्नो साथमा ल्याउन पाउने सामानहरुबारे भन्सार विभागले नयाँ व्यवस्था लागू गरेको छ।
जसमध्ये महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा भने २५ ग्राम सुन ल्याउँदा भन्सार तिर्न नपर्ने व्यवस्था रहेको छ । यस बाहेक २ सय ग्रामसम्मको गहना भन्सार महसुल तिरेर ल्याउन पाउने व्यवस्था रहेको छ ।
तर गहनाको आकार दिएर बनाएको बेरुवा औठी, बाला, सिक्रि जस्ता रसायन प्रयोग नगरेका सुनलाई भने गहनाको मान्यता नदिने उल्लेख गरिएको छ ।
यसैगरी विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउनेछन् ।
तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ ।
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन ।
तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । यसबाहेक अन्य अवस्थामा जुनसुकै टेलिभिजनमा नियमानुसारको महसुल भन्सार तिर्नुपर्ने हुन्छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment