जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो

डिसी नेपाल
१५ असार २०८० १९:३४
328
Shares

कास्की। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पुगे । अन्तर प्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि आज बिहान मात्र पोखरा आइपुगेका उनी बैठक उद्घाटन सम्पन्न भएलगत्तै जन्म गाउँ पुगेका हुन्।

दाहाल तेस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक जन्म गाउँमा पाइला टेकेका थिए । उनी सकभर पोखरा आउँदा जन्म गाउँ लेवाडे पुगेर दाजुभाइ तथा स्थानीयवासीसँग अन्तरक्रिया गर्न छुटाउँदैनन् । प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाएपछि लेवाडेवासी उत्साहित थिए । प्रधानमन्त्री दाहालले लेवाडेलगायत आसपासका क्षेत्रको विकासका बारेमा चासो राखेका थिए।

स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग उनले आफूले प्रारम्भिक शिक्षा लिएको महेन्द्र आधारभूत विद्यालयलगायत गाउँको विकासमा बारेमा चासो दिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले बताए। उनका अनुसार प्रधानमन्त्रीलाई आफ्नो गाउँमा पाउँदा स्थानीयवासीसमेत उत्साहित थिए । वडाध्यक्ष भण्डारीका अनुसार प्रधानमन्त्रीले गाउँको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका बारेमा कुराकानी गरेका थिए।

अध्यक्ष भण्डारीले भने, “प्रधानमन्त्रीलाई पाउँदा हामी अत्यन्त खुशी भयौँ । उहाँले पनि मसिनो गरी यहाँको विकासका बारेमा चासो दिनुभयो । हामीले यहाँको अवस्थाका बारेमा उहाँलाई जानकारी गरायौँ । केही योजनामा सहयोग गर्न आग्रह गर्दा उहाँले आफ्नोतर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले गाउँको अवस्था, खेतीबाली, मौसमलगायतका विषयमा जिज्ञासा राखेका थिए । वडाध्यक्ष भण्डारीले प्रधानमन्त्रीसँग विशेषगरी अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट पामे हुँदै पोखरा जोड्ने सडक स्तरोन्नतिका लागि माग गरेको बताए।

वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेको योगदानको प्रशांसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयसमेतसँग अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिबारे विशेष चासो राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *