आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला
काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज (असार २१ गते, बिहीबार) देखि बिक्री खुला भएको छ।
यस अघि कम्पनीले बुधबार (असार २० गते) आईपीओ जारी गर्ने सूचना सार्वजनिक गरेको थियो। तर कम्पनीले बुधबारदेखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बिहीबार (असार २१ गते)बाट आईपीओ जारी हुने सूचना जारी गरेको छ । सोही जारी भएको सूचना अनुरुप आजदेखि प्रिमियम मूल्य थप गरेर सर्बसाधारणको लागि आईपीओ बिक्रीमा ल्याएको हो।
यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ। यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो।
कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो। यसमध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ। त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो। यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ।







डिसी नेपाल







Facebook Comment