सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेता कोइराला

डिसी नेपाल
२२ असार २०८० १४:०९
236
Shares

मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशंका व्यक्त गरे।

नेता डा कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल हुने बताउँदै यस्ता उतार चढावलाई झेल्दै संसदीय परम्परा र संविधानमा भएका करारलाई टेकेर अगाडि बढ्दै जानुपर्नेमा जोड दिए।

उनले कांग्रेस लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको बताए। उनले भने, “कोशी प्रदेश सरकार निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालत जान सक्ने कुरा छ, अदालतको निर्णय हामी सबैले स्वीकार गर्नुपर्छ।”

उनले दण्डहीनताको अन्त्य र भ्रष्टचार मुक्त समाजले मुलुकलाई समृद्धितर्फ डोर्‍याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे। एक प्रश्नको जवाफमा नेता डा कोइरालाले वर्तमान गठबन्धन सरकारलाई अगाडि बढाउनाका साथै बलियो बनाउनुपर्ने र अन्य गठजोडतर्फ सोच्न नहुने बताए। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *