११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

डिसी नेपाल
२५ असार २०८० १३:१४
68
Shares

काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रू २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा रू २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल रू ५२ खर्ब ५३ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो।

यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्यांक हो। गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले रू ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो।

गत जेठ मसान्तसम्ममा रिभर्स रिपोमार्फत रू पाँच अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकबाट रू छ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ। यो अवधिसम्ममा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी रू ५ खर्ब ६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको जनाइएको छ ।

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जाबाट गत जेठ मसान्तसम्ममा रु १ अर्ब ९६ करोड लगानी गरेको छ । जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब १० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २ सय ३५ ऋणीलाई प्रवाह भएको रू १ खर्ब ३९ अर्ब ६८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४ सय ५५ महिला उद्यमीलाई प्रवाह भएको रू ६० अर्ब ४६ करोड कर्जा बक्यौता छ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८ सय २० ऋणीको रू २ अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ। ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा गत जेठ मसान्तमा रू ७२ करोड ५४ लाख बराबर बक्यौता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *