सङ्खुवासभाको हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न मन्त्रीसमक्ष माग

डिसी नेपाल
३ साउन २०८० २२:११
56
Shares

काठमाडौं। पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा गएको बाढीबाट क्षति पुगेको पुल चाँडो निर्माण गर्न माग गरिएको छ ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर यही असार २ गते आएको बाढीले हेवाखोला र पिलुवाखोलामा रहेका दुई वटा पक्की पुल बगाएको भन्दै उक्त पुल चाँडो निर्माण गर्न माग गरेको हो ।

भेटमा सांसद खड्काले बाढीले पक्की पुल बगाउँदा चैनपुर र पाँचखपनमा आवतजावतको समस्या भएको भन्दै चाँडो पुल निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गरेका हुन् ।

“सङ्खुवासभामा आएको बाढीले पक्की पुल र झोलुङ्गे पुल बगाउनुका साथै १९ घर विस्थापित भएका छन्, पुल चाँडो निर्माण र विस्थापित जनतालाई चाँडो बासको व्यवस्था होस्”, उनले भने ।

उक्त बाढीपहिराले सङ्खुवासभाका १० वटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको थियो । भेटमा मन्त्री ज्वालाले सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा बाढीपहिराले पुर्‍याएको क्षतिबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गरिने बताए।

“गृह, सहरी विकासलगायतका सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर प्रभावित ठाउँमा चाँडो बेलिब्रिज निर्माण गर्छौं, सरकारसँग ‘स्टक’ रहेको बेलिब्रिज प्रभावित ठाउँमा पठाउँछौँ”, उनले भने ।

सङ्खुवासभाको टोलीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरुङलगायतलाई भेटेर बेलिब्रिज निर्माण गर्न माग गरिसकेको छ ।

भेटमा पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांग्रेस नेता थीरबहादुर राई, दीपेन्द्रमान शाक्य, चित्रप्रसाद श्रेष्ठ, डम्बर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.