एकीकृत समाजवादीबाट एमालेमा फर्किने बढे
काठमाडौं। माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन भएको दुई वर्षमै संकटमा फसेको छ। पार्टी र आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न चिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा (एमाले)मा फर्कने लहर चलेसँगै एकीकृत समाजवादी संकटमा परेको हो।
एमालेका संगठन विभाग सचिव गगन विष्टले एमालेमा फर्कने एकीकृत समाजवादी पार्टीका नेताहरूको लिस्ट लामो रहेको दाबी गर्दै भने-‘एकीकृत समाजवादी पार्टी भनेर माधव नेपाललाई रुँगेर बस्ने नेताहरू कम हुँदैछन्। विगत एक वर्षभित्र उक्त पार्टीबाट एमालेमै फर्किएका जिल्लादेखि केन्द्रसम्मको नेतृत्व तहमा रहेका नेताहरूको संख्या तीन दर्जनभन्दा बढी छ । एमालेमा फर्कने केन्द्रीय कमिटी सदस्यहरू त्योभन्दा धेरै छन्।’
गत जेठमा वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा समाहित भएपछि पार्टी प्रवेशको लहर चलेको एमालेका नेताहरूले बताएका छन्।
उपाध्यक्ष चुडामणी जंगली, सचिव भागवत विश्वासी, केदार न्यौपानेसमेत पछिल्लो समय एमालेमा फर्किसकेका छन् । त्यस्तै, दर्जनभन्दा बढी केन्द्रीय सदस्य र करिब २० वटा जिल्ला नेताहरू एमालेमा समाहित भएको विष्टको दाबी छ। नेपाल समाचारपत्र दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment