भ्रष्टाचारीलाई नेपाल स्वर्ग, अब जनआन्दोलनको विकल्प छैनः कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् ।
आज जिल्ला समिती काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको विद्यमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे ।
उनले राष्ट्र निर्माणको फरक विचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत व्यक्त गरे ।
संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग , धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा व्याप्त सर्वसत्ताबाद र बाह्य शक्तिको तिव्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुसँग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।
केही ठूला दलका मुठ्ठी भरका नेताहरुको निमित्त मात्र यो व्यवस्था स्वर्ग भएको भन्दै थापाले भ्रष्टाचारिहरुलाई दण्डित गर्ने भन्दा पनि संरक्षण गर्ने व्यवस्था अब टिकाउ हुन नसक्ने ठोकुवा गरे ।
प्रशिक्षणमा वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले जनताको विश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो बैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे ।
कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद संगठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धि धारणा राखेका थिए ।







डिसी नेपाल








Facebook Comment