प्रधानमन्त्री दाहाल र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल

डिसी नेपाल
१५ साउन २०८० १२:२६
168
Shares

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका हुन्।

छलफलमा नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

सरकारले अगाडि बढाएको महत्वपूर्ण विधेयक प्रक्रियामा लैजान ढिलाइ भएकामा चासो व्यक्त गर्दै प्रधानमन्त्रीले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउन प्रमुख सचेतकसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा भइरहेको ढिलाइका बारेमा प्रधानमन्त्रीले चासो राखेका थिए।

“प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकको काम के हुँदैछ भनेर उहाँले चासो राख्नुभएको थियो”, प्रमुख सचेतक परियारले भने, “कानुन, न्याय तथा मानवअधिकार समितिले उपसमिति बनाएर छलफल सकेको र प्रतिवेदन लेखनको काम भइरहेको जानकारी गराएको छु।”

यस्तै प्रमुख सचेतक परियारले संसदीय समितिको सभापति चयनमा विलम्ब हुँदा प्रभावकारी काम गर्न कठिनाइ भएका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

छलफलमा संसद्मा जारी अवरोध हटाउने विषयमा समेत सो अवसरमा छलफल भएको थियो। यस्तै प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *