भारतको केदारनाथमा पहिरोले होटल बगाउँदा कर्णालीका १० जना बेपत्ता

डिसी नेपाल
१९ साउन २०८० १६:५४
2.5k
Shares

हेमन्त केसी

सुर्खेत । भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा कर्णालीका १० जना बेपत्ता भएका छन्। केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका १० जना बेपत्ता रहेको भारतीय मिडिया जागरणले उल्लेख गरेको छ।

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको बताइएको छ। यसैगरी हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए।

उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको जागरणले जनाएको छ। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता छन्।

वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्। बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको खबरमा उल्लेख छ तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुलेको छैन।

बेपत्ता हुनेमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेका छन्।

बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको जागरणले उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *