विशेष महाधिवेशनको यात्रामा माओवादी, मंसिरमा विधान सम्मेलन गर्ने निर्णय
काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ।
यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको चौँथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयका सम्बन्धमा आज मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग छलफल गर्दै उनले विधान सम्मेलन र विशेष महाधिवशेन गर्ने केन्द्रीय समितिको निर्णय पार्टी जीवनमा कोशेढुंगा भएको बताए।
उनले भने, “केन्द्रीय समितिको बैठकले पार्टीलाई व्यवस्थित र क्रान्तिकारी बनाउन सर्वाधिक महत्वपूर्ण निर्णय लिएको छ ।”
माओवादीले आगामी मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनमार्फत भद्दा रहेको सङ्गठनिक संरचनालाई चुस्तदुरुस्त बनाउने, पार्टीलाई व्यवस्थित बनाउन प्रत्येक कमिटीमा लोकतान्त्रिक पद्दति अनुशरण गर्ने माओवादीको तयारी छ ।
अहिले माओवादीका सांगठनिक संरचना अस्तव्यस्त छन् । केन्द्रदेखि तलसम्मका नेताहरुको जिम्मेवारी स्पष्ट नहुँदा पार्टीका संरचनाले गति लिन नसकेको माओवादीकै स्वीकारोक्ति छ ।
प्रवक्ता सापकोटा विधान सम्मेलनले पार्टीमाविधि बसाल्ने र विधिमार्फत पार्टी सुव्यवस्थित ढङ्गले सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।
“सङ्गठनात्मक संरचना छरितो बनाउने, पार्टीमा विधि स्थापित गर्ने उद्देश्यका साथ विधान सम्मेलन गर्न लागिएको हो”, उनले भने।
विधान सम्मेलनले गर्ने निर्णय निकै महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सम्मेलनले विधि, पद्दति र प्रक्रियाको टुङ्गो लगाउने जिकिर गरे।
“पार्टीमा ‘सिस्टम’ बसेको छैन, सिस्टम बस्यो भने संरचना क्रियाशील हुन्छन्”, प्रवक्ता सापकोटाले भने, “सिस्टम बसाल्ने ध्ययेले सम्मेलन गर्ने निर्णय गरिएको हो ।”
केन्द्रीय समिति बैठकमा सदस्यहरुले पार्टी कमिटी अत्यन्त भद्दा हुँदा कामयवी नदेखिएको, केन्द्रदेखि तल्ला कमिटीको संरचना सानो छरितो बनाउनुपर्नेलगायतको सुझाव दिएका थिए । केन्द्रीय समितिको भावनाअनुसार विधान सम्मेलनमार्फत दुई अंकको केन्द्रीय समिति बनाउने माओवादीको तयारी छ।
विधान सम्मेलनमार्फत पार्टीलाई व्यवस्थित र वैचारिक दृष्टिकोणबाट क्रान्तिकारी बनाउन विशेष महाधिवशेन गर्न लागिएको प्रवक्ता सापकोटाको भनाइ छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment