संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडौं। निरन्तरको संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श गर्ने भएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहालले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘संसदको जारी अवरोध खुलाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग प्रधानमन्त्रीले छलफल गर्दै हुनुहुन्छ,’ आचार्यले डिसी नेपालसँग भने।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविन समिति गठनको माग गर्दै साउन दश गतेदेखि निरन्तर संसद अवरुद्ध पार्दै आएको छ।
एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको गतिरोध अन्त्य नहुने अडान राखेको छ भने सरकारले सरकारकै अंगहरुले सुन तस्करी प्रकरणमा छानविन गरिरहेको भन्दै उच्चस्तरीय छानविन समिति आवश्यक नभएको बताउँदै आएको छ। प्रतिपक्ष र सत्तापक्ष आफ्नो अडानमा कायम रहँदा संसदको गतिरोध हट्न सकेको छैन।
यसैबीच सभामुख देवराज घिमिरेले संसद खुलाउने विषयमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।
सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।
सभामुख घिमिरेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए।







डिसी नेपाल







Facebook Comment