‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ले फर्काउला गुमेको विरासत ?
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समितिको बैठकले नेताहरुलाई जिल्लादेखि वडा तहसम्मको जिम्मेवारी दिएर तीन महिने अभियान सञ्चालन गरेको छ।
जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान अन्र्तगत नेताहरु जनतासँग एकाकार हुने भन्दै सबैलाई माओवादीले आआफ्नो कार्यक्षेत्रमा खटाएको छ।
युद्धकालीन पृष्ठभूमिबाट आएको माओवादीले यस अभियानमा युद्धकालीन शैली अपनाएको छ। एक जिल्लाबाट अर्को जिल्लामा जिम्मेवारी लिएर गएका नेताहरुले आफ्नो कार्यक्षेत्रमा पार्टीको जिल्ला स्तरीय बैठक बसाल्ने क्रम जारी छ।
यद्यपि यस अभियानको औपचारिक सुरुवात यही भदौ १६ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट गर्दैछन्। उनले माओवादीले सुरु गरेको जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँबाट शुभारम्भ गर्ने बताइएको छ।
सम्पूर्ण केन्द्रीय सदस्यदेखि स्थायी समिति र पदाधिकारी समेत यस अभियान बमोजिम तोकिएको कार्यक्षेत्रमा खटिएका छन्।
अन्तर जिल्लामा जिम्मेवारी दिएर पठाइएका नेताहरु अलग भूगोलमा खटाएको माओवादीले विगतमा जनतासँग टुटेको कडीलाई पुनःजोडेर गिर्दो सांगठनिक क्षतिलाई कम गर्ने जमर्को गरेको छ ।
यस पटक आफूले प्राप्त गरेको भूगोलको जिम्मेवारीमा खटिएका माओवादी नेताहरुले जनता र कार्यकर्ताका गुनासो सुन्ने र त्यसको यथाचित व्यवस्थापनका लागि प्रयत्न गर्ने बताइरहेका छन्।
माओवादी केन्द्रका प्रचार विभाग उपप्रमुख महेश्वर दाहालले माओवादीको जनतासँग टुटेको कडी जोड्ने अभियानको रुपमा तीन महिने अभियानलाई लिएको बताउँछन्।
उनले माओवादीले पछिल्लो समय आफ्नो वर्गधरातल भुलेकाले जनतासँग अन्तरघुलित गराउने उचित अवसरको रुपमा यस अभियान सुरु गरिएको जनाए।
उनले भने, ‘माओवादी केही समय जनतासँग अलग्गिएकाले विश्वास गुम्दै गएर आजको अवस्था आएको हो । अब तीन महिना जनतासँगै पुनःएकाकार भएर माओवादी जनताकै पक्षमा रहेको अनुभूत गराउछौं।’
उनले जनता र माओवादीबीचको दुरी घटाएर पुरानो विरासत फर्काउन तीन महिने अभियान कामयावी हुने जिकिर गरे। माओवादीले विगतको कमीकमजोरी बारे जनतासँग आत्मआलोचित हुँदै गुमेको विश्वास फर्काउन यस अभियानले प्रभावकारी भूमिका खेल्ने उनको दाबी छ।







डिसी नेपाल








Facebook Comment