चिकित्सक कुट्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

डिसी नेपाल
२८ भदौ २०८० १८:०१
44
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि बढाउदा पनि चिकित्सकमाथि आक्रमण भएको भन्दै ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । चिकित्सकमाथि आक्रमणका साथै पटक पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघको भनाइ छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले चार जनालाई पक्राउ गरेपछि आवश्यक कारबाही नहुने देखिएकाले सरकारलाई अल्टिमेटम दिनुपरेको बताए । उनले अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर गरे । उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार दोषीलाई कानुनी कारबाही गर्न माग गरे ।

आफ्ना विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराएको र चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिवद्धता आएपनि विश्वस्त हुन नसकिने संघले जनाएको छ । भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो । डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *