बैतडीको झुलाघाट नाका बन्द

डिसी नेपाल
११ असोज २०८० १९:४०
64
Shares

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द गरिएको छ। महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि अर्को सूचना जारी नभएसम्म नाका बन्द गरिएको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले सीमा नाकामा आवागमन बन्द गरिएको हो। यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो। तर, मर्मतको काम नसकिएको भन्दै मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको हो।

अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २:१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो। यसअघि सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबिच सहमति भएको थियो। झुलाघाट नाकामा इष्ट इन्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ। पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो।

तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ। पुरानो काठको पुल भारतीय पक्षले बेला–बेला काम चलाउको लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। झुलाघाट नाका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ। झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *