तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

डिसी नेपाल
३ कार्तिक २०८० १२:५६
228
Shares

गलेश्वर । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरु पनि ।

केही वर्षअघि सम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध नसकिँदै लिङ्गे पिङ हालेर युवाहरु दसैँको तयारी गरिसक्थे ।

अहिले दसैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ, न त युवाहरु नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिक आ–आफ्नो काममा व्यस्त छन् । दसैँको रौनकले गाउँलाई छोएको छैन ।

पाँच सात वर्षअघि सम्म तीजसँगै दसैँको रौनक सुरु हुन्थ्यो । सोह्र श्राद्ध सकिने बित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटाबाटो सफा गर्ने काममा युवा नै कस्सिने गर्दथे ।

पछिल्ला केही वर्षयता ज्यामरुककोटमा मात्रै होइन म्याग्दीमा नै युवाहरु वैदेशिक रोजगार र परिवार बसाइँसराइ गरी सहरतिर बस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका–२ का ६८ वर्षीय डिलबहादुर सापकोटाले बताए।

बेनी–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरुको सङ्ख्या बर्सेनि बढ्दै गएपछि गाउँ युवाविहीन भएको छ ।

एक वर्षमा सरदर ५० देखि ८० जनासम्म  युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । अध्ययनका लागि जानेहरुको सङ्ख्या पनि उत्तिकै छ । त्यसका साथै बसाइँसराइ गरेर सहर र मधेसतिर जानेहरु पनि बाक्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घरपरिवारले बसाइँसराइ गरेका छन् ।

पाहारिलो घाम लाग्न सुरु भएपछि खेतका फाँटमा धान थन्क्याउने काममा किसान व्यस्त छन् । असोजको अन्तिम साता परेको पानी र चलेको हावाहुरीबाट थन्क्याउने बेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसान कात्तिक लागेपछि मौसम घमाइलो बन्दा खेतको फाँटमा व्यस्त हुन थालेका र दसैँको रमाइलोले भन्दा पनि धान भित्र्याउने चटारोले किसान बेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताए।

कामकाजका लागि, उच्च शिक्षाका लागि र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरु गाउँ फर्किन थालेका भए पनि कामको चटारोले गर्दा दसैँको रौनक नदेखिएको उनको भनाइ छ । घरमा कमेरो र रातो माटोले लिपपोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्नेमा राखेर लिपपोत गर्दै गर्दा दसैं आएको छुट्टै आनन्द हुन्थ्यो । दसैंका लागि भनेर खेतको कान्लामा घाँस साँच्ने गरिन्थ्यो ।

गाउँघरका युवादेखि बूढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चार लिङ्गो गाडेर पिङ बनाउने गाउँमा हराउँदै गएको छ । अहिले रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशहरुमा जान थालेसँगै दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो । “विशेषगरी युवा पुस्ताले लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिले गाउँमा युवाहरु नै छैनन्, पाको पुस्तालाई फुर्सद पनि छैन, जाँगर पनि चल्दैन”, ५२ वर्षीय टेकबहादुर क्षेत्रीले भने ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बूढापाकाहरु बताउँछन् । युवाहरु रोजगारीका लागि विदेश गएका छन् । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभावसमेत बढ्दै गएको छ । पिङ बनाउनका लागि बाबियो काटेर ल्याउने, लुठो बाट्ने र चारवटा बाँस गाड्न कम्तीमा आठ÷दशजना आवश्यक पर्दछन् ।

गाउँघरमा फाटफुट भएका युवाहरु पनि व्यवसाय र रोजगारमा हुनुले पनि लिङ्गे पिङ लोप हुँदै गएको फापरखेतका इन्द्रदत्त शर्माले बताए

फेरिँदै छ ग्रामीण परिवेशः

युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता तथा परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ ।रातो मा

टो र कमेरोले पोतिएका घर गाउँमा देखिन छाडेका छन् । इनामेल र आयातित रङ्गले घर रङ्गीन थालेपछि गाउँका मड्किना गृहिणीहरुले बिर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ  । सबै चीज बजार आश्रित भएको छ । नयाँ लुगा लगाउन दसैँ नै पर्खनु पर्दैन ।

दसैँ नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चीजको सहजताले दसैँको रौनक हटेको छ । अहिले घरहरू रातो माटो र कमेरो माटोले पोतिँदैनन् । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । सहरदेखि गाउँसम्म आधुनिक घर बनाइएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *