शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सबै दलबीच सहकार्य जरुरीः मन्त्री शर्मा

डिसी नेपाल
१६ कार्तिक २०८० १६:१५
16
Shares

दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताएकी छिन्। घोराही उपमहानगरपालिका–११ जीतपुरस्थित सहिद परिवारसँगआज भएको भेटमा उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने बताइन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको उनको भनाइ थियो।

मन्त्री शर्माले महासचिव गुटेरेसले सङ्घीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्वपूर्ण रहेको बताइन्। सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने तयारी भइरहेको बताउँदै उनले यसका लागि सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरिन्।

अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हल गरी नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्नेमा जोड दिइन्।

नेपाल सरकारका प्रवक्तासमेत रहेकी शर्माले सरकारले पहिलो पटक सहिदका नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा सम्मान भएको धारणा राखिन्।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिइने बताइन्।

भेटमा सहिद परिवारले गाउँको बाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए। उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्ति एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.