राष्ट्रपति कोरियाली कृषि मन्त्रीबीच भेटवार्ता – नेपालको कृषिमा आधुनिकिकरणका लागि आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशा कै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरीयाली सरकारलाई आग्रह गरेका हुन् ।
उनले नेपालमा कृषि विकासको प्रचुर संभावना रहेपनि परम्परागत प्रणाली यसको वाधक भएको बताउँदै प्रविधिमा ठूलो फड्को मारेको कोरीयाले प्रविधि र लगानीमार्फत सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलले गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामिण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनसँग विहिबार भएको शिष्टाचार भेटमा कृषिमा गरिने लगानीमा कर नलगाउने नेपाल सरकारको नीति रहेकोतर्फ ध्यानाकर्षण गराएको पनि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
“नेपालमा कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएमा देश समृद्ध हुन्छ । तर हाम्रो कृषि आम्दानी र रोजगारीको रुपमा पेशा बन्न सकेको छैन । सबै किसान छन, सबै वेरोजगार जस्तै छन”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने, “कृषिलाई रोजगारी र आम्दानीको पेशा बनाउन नयाँ प्रविधि र लगानीको आवश्यकता छ । कोरियाले प्रविधिमा गरेको चमात्कारिक विकासबाट नेपालले लाभ लिन सक्यो भने कृषि साँच्चिकै महत्वपूर्ण पेशाको रुपमा विकास हुन्छ ।”
राष्ट्रपति पौडेलले नेपालमा कृषि औजार कारखाना, रसायनिक तथा प्रंगारिक मल कारखाना, कृषि चिस्यान केन्द्रको स्थापना, कृषि उत्पादन प्रोसेसिङ उद्योगलगायतका क्षेत्रमा लगानीको संभावना रहेको पनि बताएका थिए ।
राष्ट्रपति पौडेलले कोरियाको कृषि क्षेत्रमा धेरै नेपाली श्रमिकहरु कार्यरत रहेको र उनीहरुले राम्रो पनि गरिरहेको उल्लेख गर्दै कृषि श्रमिकलाई समानरुपमा व्यवहार हुने विश्वास व्यक्त गरे । कोरियामा औद्योगिक क्षेत्रमा रहेका श्रमिकको तुलनामा कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरूमाथि असमान व्यवहार भइरहेको भन्ने समाचार सार्वजनिक भईरहेका छन् ।
राष्ट्रपति पौडेलले कोरियामा रहेको नेपालीहरुको बचतलाई जम्मा गर्न नेपाली बैंकको स्थापना हुन सके सहज हुने र यसका लागि आवश्यक पहल लिन पनि आग्रह गरेका थिए ।
पोखरेलका अनुसार कोरियाका कृषि, खाद्य तथा ग्रामिण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनले नेपालको कृषि क्षेत्रको विकासमा हरेक किसिमका सहयोग गर्न कोरीयाली सरकार इच्छुक रहेको बताउँदै राष्ट्रपति पौडेलले चासो दिएको मल कारखाना स्थापनाका लागि पहल गर्ने जानकारी दिएका थिए । उनले कोरियामा नेपाली बैंक स्थापनाका लागि नेपालबाट फर्कने वित्तिकै सम्बन्धित निकायसँग छलफल गर्ने बताएका थिए ।
मन्त्री ज्योङ ह्वाङ–गेउनले नेपालमा ठूलोभन्दा ठूलो साझेदारीको प्रयत्न भईरहेको बताउँदै अर्को सालबाट हुण्डाई कम्पनीको एसेम्बलीङ गर्ने काम नेपालबाटै गर्ने तयारी रहेको जानकारी पनि दिएको थिए ।







डिसी नेपाल







Facebook Comment