दुई वर्षमा सकिने बोंगा खोलाको पुल तीन वर्षमा आधा मात्रै काम

डिसी नेपाल
२२ कार्तिक २०८० १५:३४
192
Shares

बागलुङ।  बागलुङको तमानखोला गाउँपालिका–१ बोंगादोभानस्थित बोंगा खोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो।

अहिले खोलाको दुईपट्टी पिल्लर मात्रै ठडिएका छन्। त्यस बाहेक पुलको कुनै पनि काम हुनसकेको छैन । ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्। हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात सञ्चालन हुन सक्दैनन्।

यसवर्ष पनि असारदेखि ठप्प भएका सवारीसाधान कात्तिक लागेपछि मात्रै सञ्चालनमा आएका हुन्। स्थानीय वारपार गर्न झोलुङ्गे पुलको सहायता लिने गरेका छन्।

यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ । भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोला छन्। यहाँ पुल नबन्दा वडा नं १ र २ का केही गाउँबाहेक अन्य वडाका नागरिक बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन्।

पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनको लापरबाहीले अहिलेसम्म पुल बन्न नसकेको हो। निर्माण कम्पनी समय–समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र हुने गरेको स्थानीयवासीको भनाइ छ।

विसं २०७७ पुस १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरी काम सुरु गरेको निर्माण कम्पनीले अटेर गरिरहेको छ। विसं २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

दुई वर्ष तीन महिनामा सक्नुपर्ने पुल समयावधिसम्म नसकेपछि गतवर्ष चैत ३० गते एक वर्षको लागि म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर अमर अधिकारीले बताए।

निर्माण कम्पनीको म्याद अब पाँच महिना मात्रै बाँकी रहेको उहाँको भनाइ छ । पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ मा जिम्मा लिएको इञ्जिनीयर अधिकारी बताउँछन्। पाँच महिनाको अवधिमा धेरे मजदूर लगाएर धमाधम काम गरे मात्रै सकिने सम्भावना रहेको उनको भनाइ छ।

इञ्जिनीयर अधिकारीले भने, “विभिन्न कारण देखाएर अहिलेसम्म कामसक्न सकेको छैन, अब तिहार पछाडि आएर काम गर्छु भनेको छ, हालसम्म ५२ प्रतिशत काम गरेको छ, बाँकी ४८ प्रतिशत काम ध्यान दिएर ग¥यो भने चैतसम्म सकिन सक्छ, काम गरेन भने गाह्रो छ, बेसको काम गरिसकेको छ, अझै केही समय म्याद रहेको हुँदा हामीहरुले पनि ताकेता गरिरहेका छौँ।”

पुल निर्माण सुरु भएको यतिका वर्षसम्म काम सम्पन्न नहुँदा बर्खाको समयमा बढी सास्ती खेप्नु परेको स्थानीयवासी प्रेमबहादुर पुनले बताए। यो खोला पार गरेर मात्रै पालिकाको केन्द्र र ठूला–ठूला सहरमा पुगिने भन्दै ठेकेदारको लापरबाहीले हजारौँ तमानखोलावासीले दुःख पाएको पुनको भनाइ छ।

बर्खा लाग्न थालेपछि १०÷१५ दिन काम गरे जस्तो गर्ने र त्यसपछि ठेकेदार भाग्ने गरेको उनले बताए। सामान ढुवानी र यात्रा गर्न बढी समस्या हुने पुन बताउँछन्।

“हिउँदमा त गाडी तर्न सक्छ, यात्रा गर्न र सामान ओसारपसार सजिलै गर्न सकिन्छ, जब असार लाग्छ, त्यसपछि कात्तिकसम्म त गाडी नै चल्दैनन्, यहाँ पुल बन्थ्यो भने त किन समस्या हुन्थ्यो र जति बेला पनि ओहोरदोहोर गर्न सकिन्थ्यो” पुनले भने,“यही तालले हो भने त यहाँ पुल बन्ने सम्भावना देखिन्न, वर्षौँ भयो काम सुरु भएको एक वर्षमा एक पटक काम गर्न आउँछ, दुई/चार दिन गरेर भाग्छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे पनि बेवास्ता गरेको बताए। यहाँ काम गर्न कुनै पनि बाधा अवरोध नभएको भन्दै निर्माण कम्पनीले अटेरी गरिरहेको उनी बताउँछन्। सम्झौताको म्याद सकिएर थप गरेको पनि एक वर्ष बित्न लाग्दा पनि काममा नफर्किएको उनको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भने, “हामीहरुले धेरै पटक निर्माण कम्पनीका मुख्य व्यक्तिलाई नै धेरै पटक पुलको काम सकिदिनु प¥यो भने भन्यो तर सुनुवाइनै भएन, बाहिरबाट ल्याउने सामग्रीबाहेक अरु अरु यही सहज रुपमा पाइन्थ्यो, काम गर्न समस्यानै थिएन, मजदुर लगाएको भए एकै वर्षमा पुल सकिन्थ्यो, तर तीन वर्षसम्म पनि पुल बन्ने नबन्ने ठेगान छैन, जनताले सास्ती पाइराखेका छन्, निर्माण कम्पनी बेखर छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *