प्रहरीभित्र तरंग

शक्ति केन्द्रको आडमा काजमा बस्दै आएका प्रहरीलाई तोकिएको स्थानमा हाजिर हुन निर्देशन

डिसी नेपाल
५ मंसिर २०८० १०:०३
232
Shares

काठमाडौं। राजनीतिक र प्रशासनिक शक्ति केन्द्रको आडमा काजमा बस्दै आएका प्रहरीलाई प्रहरी प्रधान कार्यालयले २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएपछि प्रहरीभित्र तरंग उत्पन्न भएको छ।

प्रहरी प्रधानकार्यालयले वर्षौंदेखि काजमा बसेका प्रहरीलाई तुरुन्तै रवाना लिएर तोकिएको स्थानमा जान निर्देशन दिए लगत्तै काजमा बसेका कर्मचारीरुमा तरंग उत्पन्न भएको हो।

सोमबार नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका कर्मचारी प्रहरी प्रधान कार्यालय र अनुकूल स्थानमा सोर्समा बस्दै आएकाले तुरुन्तै लागू हुने गरी रवाना लिन निर्देशन दिएको थियो।

उनीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जानकारी दिँदै सबैलाई पत्राचार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्युरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो।

रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने ब्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको भन्दै तत्कालै रवाना लिन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालय मात्रै करिब ३ सय प्रहरी प्रशासनिक सोर्स र शक्तिकेन्द्रको आडमा काजमा बसेका छन्। त्यस्तै विभिन्न कार्यालयमा घुमुवा र अन्य नाममा पनि काजमा बस्दै आएका छन्।

विशेषगरी कार्यालय प्रमुखले घुमुवा प्रहरीको रुपमा काजमा राख्ने भएकाले पनि तोकिएको दरवन्दीमा नजाने प्रवृत्ति बढेको हो। विभिन्न जिल्ला प्रहरी कार्यालयमा पनि इन्चार्जले आफ्नो अनुकूलतामा काजमा राख्ने गरेका छन्।

प्रहरी नियमावली, २०७१ को नियम ५२ ले काज सरुवाको व्यवस्था गरेको छ। तर, उपनियम (१) मै सामान्यतयाः प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ। यो व्यवस्थाले विशेष परिस्थितिमा प्रहरी प्रधान कार्यालयले काज खटाउन सक्ने सुविधा दिएको छ।

कुनै ठोस अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अधिकृत पठाउँदा काज खटाउन सकिने वा अन्य कार्यालयबाट विशेष परिस्थितिमा काजमा पठाउने व्यवस्था रहेको छ।

कुनै कार्यालयका प्रमुख विशेष कारणले समय अगावै तानिँदा समेत काज सरुवा गरेर अर्का अधिकृतलाई खटाउन सकिन्छ। तर प्रहरी कर्मचारीमा भने आफ्नो अनुकुलतामा काज बस्दै आएका छन्।

काज सरुवाका लागि नियमावलीले यस किसिमको परिस्थितिको व्यवस्था गरे पनि प्रहरी प्रधान कार्यालयले शक्ति केन्द्रको स्वार्थमा काज सेवाको दुरुपयोग गरिरहेको छ।

संगठनले गरेको निर्णय विपरीत अन्य ठाउँमा सरुवा हुन प्रहरी अधिकृतले राजनीतिक दलका नेताको फेरो समात्ने गरेका छन्। यो प्रवृत्ति प्रहरी उच्च अधिकारीबाट फैलिँदै प्रहरी जवानले पनि आफ्नो सरुवाका नेतालाई सहयोगी बनाउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.