बाबुराम-प्रचण्डको मिलनबिन्दु ‘नेकपा समाजवादी’
कम्युनिष्ट विचारधारा परित्याग गरेका भट्टराई फेरि फर्किँदै
काठमाडौं। नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
बाबुराम भट्टराई नेतृत्वको नेसपामा माओवादीसँग पार्टी एकता गर्ने बारेमा सिर्जित अन्योलताका बीच एकता प्रक्रियालाई मूर्तरुप दिने तयारी थालिएको हो।
सोमबार बेलुका भट्टराई निवास टोखामा बसेको नेसपा पदाधिकारी बैठकले एकता प्रक्रियालाई मूर्तरुप दिने निर्णय गरेकोे नेसपाका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार पार्टीको नाम र चुनाव चिन्ह आपसी सहमतिमा टुंगो लगाउँदै माओवादी नाम हटाउने सहमति भएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिन नेसपाका अध्यक्ष भट्टराई राजी भएका हुन्। पार्टीको नाम नेकपा (समाजवादी) राख्ने प्रारम्भिक सहमति भएको छ।
नेसपाका अधिकांश नेताहरु जारी एकता प्रक्रिया टुंगोमा पुर्याउने तयारी गरिरहेको बेला भट्टराई भने एकताका लागि अनिच्छुक देखिएका थिए। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियामा अनुदार देखिएको र आफूलाई उपेक्षा गरिएको भन्दै भट्टराई रुष्ट बनेका थिए।
गत वर्ष मंसिर ४ को निर्वाचन अगावै थालिएको एकता प्रक्रिया अन्तत तीव्र रस्साकस्सीका बीच करिब एक पछि प्रक्रिया अघि बढेको हो। आइतबार दुबै दलका पार्टी एकताका लागि गठित वार्ता समितिको बैठकले एकतालाई निष्कर्षमा पुर्याउने सहमति गरेको थियो।
दुबै दलका नेता सम्मिलित उक्त बैठकले पार्टीको नयाँ नाम र चुनाव चिन्हका विषयमा सहमति जुटाएर परिवर्तन गर्ने संयुक्त विज्ञप्तिमार्फत जानकारी गराएका थिए।
गत वर्ष संघ र प्रदेशको निर्वाचनमा नेसपाका अध्यक्ष भट्टराईले गोरखा २ को आफ्नो निर्वाचन क्षेत्र दाहाललाई सुम्पिएका थिए भने माओवादीकै निर्वाचन चिन्हमार्फत होमिएको नेसपाका प्रदेशमा २ र संघमा एक सांसद निर्वाचित भएका थिए।
नेसपाले माओवादीसँगको एकताका लागि ९ बुँदे प्रस्ताव गत असारमा माओवादी केन्द्रीय कार्यालयमा पठाएको थियो। तर माओवादीले उक्त प्रस्तावलाई गम्भीरताका साथ नलिएको नेसपाका नेताहरुले बताउँदै आएका थिए।
माओवादीले साे प्रस्ताव गत साउन १४ देखि २१ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा छलफल गर्न समेत आवश्यक ठानेको थिएन।
यस्तै चार दल सम्मिलित समाजवादी मोचामा पनि नेसपालाई समाहित नगरिएपछि भट्टराई थप सशंकित बनेका थिए। अवधारणाकार रहेको आफूलाई समाजवादी मोर्चामा सहभागी नगराइएकोमा भट्टराई माओवादी अध्यक्ष दाहालसँग क्रुद्ध बनेका थिए।
भट्टराईले आफूप्रति गरिएको उपेक्षाप्रति रोष प्रकट गर्दै एक टेलिभिजन अन्तरवार्तामा दाहालसँगको सहकार्यको सम्भावना टुंगिएको बताएका थिए।
२०४८ सालदेखि सहकार्य गरेका दाहाल भट्टराई २०७२ को संविधान निर्माणपछि अलग बनेका हुन्। नयाँ संविधान जारी भएको एक सातापछि भट्टराई दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थिए।
उनी माओवादीबाट अलग भएनन् सिंगो जीवनको उर्जाशील समय व्यतित गरेको कम्युनिष्ट आन्दोलनको उपादेयता सकिएको बताउँदै साम्यवादी विचारधारा नै परित्याग गरेका थिए।
अहिले ८ वर्षपछि आफूले परित्याग गरेको विचाधारा फेरि अवलम्बन गर्दै नेकपा(समाजवादी) नामक पार्टी गठन गरेर पुरानै विचारधारामा समाहित हुन लागेका छन्।







डिसी नेपाल








Facebook Comment