प्रशासनले रोक लगायो दुर्गा प्रसाईंको तीनकुनेमा आयोजित कार्यक्रम

डिसी नेपाल
८ मंसिर २०८० १०:२६
3.6k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न रोक लगाएको छ।

आजदेखि गर्ने भनेको कार्यक्रमलाई सुरक्षा संवेदनशीलता देखाउँदै रोक लगाएको हो प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक वचाउ महाअभियानले हिजोबाट राजधानीमा सुरु गरेको वृहत मुक्ति आन्दोलन आज तीनकुनेमा गर्ने भनिएको छ। तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन।

‘उहाँहरुले आज तीनकुनेमा कार्यक्रम गर्ने भनेर सुनिएको छ। तर, स्थानीय प्रशासनसँग कुनै समन्वय गर्नुभएको छैन। हामी कार्यालयमा बसिरहेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सिडिओ) जितेन्द्र बस्नेतले भने, ‘तीनकुने निकै संवेदनशील क्षेत्र हो। नजिकै एयरपोर्ट र निषेधित क्षेत्र छ । उहाँहरुको अभिव्यक्ति सुन्दा त्यहाँ कार्यक्रम गर्न दिने अवस्था छैन।’

संविधान प्रदत्त नागरिक अधिकारका रुपमा भेला हुन पाउने र कार्यक्रम गर्न पाउनुपर्ने हकअनुसार कार्यक्रम गर्न दिइने अवस्था रहेपनि सम्भावित अशान्तिपूर्ण आन्दोलन तीनकुनेमा गर्न नदिइने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

उनले भने,‘हिजोका कार्यक्रम र पत्रकार सम्मेलनमा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सीमा नाघेर बोल्नुभएको छ। हिंसा फैलाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने किसिमका उत्तेजक अभिव्यक्तिहरु सुनिएका छन्।’

उत्तेजक अभिव्यक्ति सुन्दासुन्दै जानाजान जोखिम निम्त्याउन तीनकुनेमा कार्यक्रम गर्न नदिइने उनले प्रस्ट पारे।

‘हुल अशान्त भए सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने हुनसक्छ। हुलदंगा हुनसक्छ। त्यसोभए अन्तर्राष्ट्रिय नागरिक उडडयन संस्था(आइकाओ)ले फरक नजरले हेर्छ ।’, उनले भने।

प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उत्तेजक अभिव्यक्ति दिएका थिए।

काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

‘राष्ट्र, रानष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ अभियानमा, नेपालले कार्यक्रम समापनका क्रमममा पत्रकार सम्मेलन मार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने व्यक्तिकेन्द्रित भइ घृणजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भोलिदेखि काठमाडौंको तीनकुने क्षेत्रमा जम्मा भइ निषेधित क्षेत्रमा प्रवेश गर्ने, सार्वजनिक सम्पतीमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा अमन चयन बिथाल्ने मनशायले कार्यक्रम सार्वजनिक गरेकाले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी गलत मनशायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्न अनुमति प्रदान गरिएको छैन।’, विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.