‘महाजात्रा’ छायांकनमा प्रकाश घिमिरे

डिसी नेपाल
२४ मंसिर २०८० ११:४४
20
Shares

काठमाडौँ। घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन्। आज बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन्।

‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन्। छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए। ‘केही समयको विश्रामपछि काममा फर्किएको छु। चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायांकनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए। ‘उहाँ स्वास्थ्यलाभ गरेर फर्किनु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ। त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायांकन गर्‍यौं। उहाँलाई नित्य काममा देख्न पाउँदा खुसी लागेको छ’,निर्माता खत्रीले भने।

उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायांकन सकेर पठाउने बताए। अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायाङ्कन गरिरहनु भएको छ। निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छायांकन गरिरहेका छन्।

‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईको भूभाग समेत गरिने छ।

अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलले सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

जात्रा’ चलचित्रको लोकप्रियताले छायांकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *