इजरायली आक्रमणका कारण उत्तरी गाजाका सबै अस्पतालहरू बन्द

दिपा पौड्याल
७ पुष २०८० १०:००
24
Shares

काठमाडौं । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि जवाफी कारबाहीका कारण गाजाको अवस्था बिग्रिएको छ ।

पछिल्लो रिपोर्ट अनुसार यी आक्रमणमा हालसम्म २० हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । यससँगै, उत्तरी गाजामा स्वास्थ्य प्रणाली पूर्ण रूपमा ठप्प भएको छ।

केही समयअघि विश्व स्वास्थ्य संगठनले उत्तरी गाजामा काम गर्ने अवस्थामा कुनै पनि अस्पताल बाँकी नभएको बताएको थियो।

इजरायलले प्यालेस्टिनीहरूलाई खान युनिस सहर वरपरको क्षेत्र खाली गर्न आग्रह गरेको छ र गाजाको दक्षिणमा पनि भीषण लडाइँ चलिरहेको छ।

प्यालेस्टाइन क्षेत्रहरूमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा रिचर्ड पिपरकनले गाजाको अवस्थाको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले गाजामा करिब ३६ वटा अस्पताल रहेको बताएको छ, जसमध्ये नौवटा मात्रै कार्यरत छन्। यी सबै गाजाको दक्षिणी भागमा छन्। उत्तरमा कुनै पनि अस्पताल सञ्चालनमा छैनन् ।

अल-अहली एक मात्र अस्पताल थियो जुन कुनै न कुनै रूपमा काम गरिरहेको थियो, तर अहिले नयाँ बिरामीहरू पनि त्यहाँ भर्ना भएका छैनन्।

अल-शिफा, अल-अवदा र अल-शहाबा अस्पतालहरूमा पनि यस्तै अवस्था छ।

विश्व स्वास्थ्य संगठनले भन्यो, “अब अल अहली अस्पतालको संरचना मात्र बाँकी छ।” दुई दिन अघि, यो उत्तरी गाजाको एक मात्र अस्पताल थियो, जहाँ घाइतेहरूको शल्यक्रिया भइरहेको थियो र यहाँको आपतकालीन वार्डमा ठूलो संख्यामा मानिसहरू आउँदै थिए।

तर अहिले न त इन्धन, न बिजुली, न स्वास्थ्य सामग्री, न स्वास्थ्यकर्मी, न डाक्टर र सर्जन रहेकाले यहाँको अपरेशन थिएटर चल्न सकेको छैन ।

अहिले यो अस्पतालले पूर्ण रुपमा काम गर्न छाडेको छ । अहिले यहाँ थोरै मानिस मात्र छन्, जसले अस्पतालको छानामुनि आफ्नो टाउको लुकाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *